बैशाख १७, २०८१ सोमबार

अब महिलाहरुको छुट्टै पार्टी



अन्तरपार्टी महिला सञ्जालले राजनीतिक दलहरूलाई छुट्टै राजनीतिक दल खोल्ने चेतवानी दिएका छन् । संविधानले दिएको समानुपातिक, समावेशी सहभागिताको हक विपरित महिलालाई प्रदेश र प्रतिनिधीसभाको निर्वाचनका लागि न्यून संख्यामा उम्मेदवारी दिएको भन्दै छुट्टै दल खोल्ने चेतावनी दिएका हुन् ।
अन्तरपार्टी महिला सञ्जालले आज काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दैै अन्तरपार्टी महिला सञ्जालका उपाध्यक्ष पुष्पा ठाकुरले शान्तिपूर्ण आन्दोलनलाई राजनीतिक दलहरूले महिलाहरूको कम्जोरी ठानेको बताइन् ।

‘राजनीतिक दलहरूले शान्तिपूर्ण आन्दोलनलाई हाम्रो कम्जोरी ठानेका छन् । अब हामी हाम्रो अधिकार सुनिश्चितका लागि सशक्त आन्दोलन गर्ने छौँ । पहिलो चरण निर्वाचनको क्षतीपूर्ती दोस्रो चरणमा लिन्छौ । यसका लागि धर्ना, विरुद्ध, पार्टी बहिस्कार समेत गर्ने छौँ ।’

सञ्जालका महासचिव यशोदा सुवेदीले संविधानले राज्यका हरेक निकायमा महिलालाई समानुपातिक, समावेशी सहभागिता हुने हक सुनिश्चित गरेपनि राजनीतिक दलहरूले व्यवहारमा कार्यान्वयन नगर्नु राजनीतिक दलभित्रको चरम पितृसत्तावादको उदाहरण हो भन्दै सशक्त आन्दोलनमा जाने चेतावनी दिएकी दिइन् ।

‘संविधानले बोलेका कुराहरू व्यवहारमा कार्यान्वयन नगरेपछि यो राजनीतिक दलभित्रको चरम पितृसत्ता हो । यसका विरुद्ध सशक्त आन्दोलन गर्नुपर्छ । यसमा हामी आम महिला सहमत भएका छौँ ।’

राजनीतिक दलले प्रदेशसभा र प्रतिनिधिसभामा महिला÷महिलाबिचमा प्रतिस्पर्धा हुने गरेर निर्वाचन क्षेत्र आरक्षण गर्न र ३३ प्रतिशत महिलाको उम्मेदवारी दिन राजनीतिक नेतृत्वको दैलो–दैलो जाँदा पनि ३२ जिल्लाको मनोनयन दर्तामा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धमा महिलाको न्यून उम्मेदवारी परेकोले अब महिलाले छुट्टै पार्टी खोल्नुको विकल्प नरहेको बताइन् ।

‘जनसंख्याको आधा भन्दा बढी हिस्सा ओगटको महिलाहरूले के छुट्टै पार्टी खोल्नुपर्ने हो ?  पुरुष उम्मेदवारलाई भोट नहाल भनेर सार्वजनिक रुपमा जानुपर्ने हो ?  के सधैँ महिला मतदाताको भोटले पुरुषले राजनीतिक गर्ने, राज गर्ने ?  उनले प्रश्न गरिन् ।

त्यस्तै महिला संघका अध्यक्ष उमा रेग्मीले पार्टीमा प्रदेशसभा र प्रतिनिधिसभामा महिला उम्मेदवार उठाउन पटक÷पटक भेट, छलफल, ध्यानाकर्षण र दबाब दिदा समेत पार्टीले कानमा तेल हालेर बसेको बताईन् ।

‘महिलाका विषयमा सबै पार्टीको प्रवृती एउटै छ । हाम्रो दबाब, छलफल निरन्तरता छ तर, पार्टीका नेताहरूले सुनेको नसुन्यै गरे । त्यसैले अब बाध्य भएर हामी राजनीतिमा लागेका महिलाहरू संघर्षमा जानुको विकल्प देखिएको छैन’ रेग्मीले भनिन् ।

मालेका निलम केसीले ठुला दलहरूबाटै महिला ओझेलमा परेपछि साना दलले झन् ओझेलमा पारेको बताइन् । त्यसैगरी नेकपा संयूक्तका लक्ष्मी शाहले महिला नेताको कुनै मूल्यांकन पार्टीले नगर्ने गरेको बताईन् । उनले पुरुष मात्र नेता बन्न सक्छन् महिला सक्दैनन् भन्ने मानसिकता राजनीतिक दलमा हाबी रहेको बताईन् । महिला खबर