बैशाख २१, २०८१ शुक्रबार

सौता, देवर र श्रीमानको यातनले २७ वर्षमै बृद्धा, घर निकाला भएपछि अर्धबेहोस



Bajhang

बझाङ – वर्षौंसम्म पति र परिवारबाट यातना पाएकी एक महिला घर निकाला गरिएकी छन् । बित्थडचिर गाउँपालिका–१ लिमकी २७ वर्षीया निर्मला बोहरा ६ र ४ वर्षका दुई नाबालक छोरासहित घर छाड्न बाध्य भएकी हुन् ।

यातनाबाट आफ्नो र नाबालक छोराहरूको ज्यानै जाने जोखिम बढेपछि घर छाडेको उनले बताइन् । ‘कान्छो छोरा भइसकेपछि अर्काे विवाह गर्‍यो,’ उनले भनिन्, ‘श्रीमान्ले दोस्रो विवाह गरेकै दिनदेखि घर छोड भनेर कुटपिट सुरु गरेको हो ।’

पतिले दोस्रो विवाह गरेपछिका ७ वर्ष पाशविक यातना सहेको बोहराले बताइन् । ‘कति कुटाइ खाएँ भनेर थाहा छैन, कति दिन त मरिसकी भनेर छाडेको हो । हानेर आँखै फुटायो, सबै सहेर बसें,’ उनले भक्कानिँदै भनिन्, ‘सासू, देवरले समेत कुटे, सौताको त कुरै नगरौं ।’

यातनाकै कारण २८ वर्षको उमेरमा पनि वृद्ध जस्ती देखिन्छिन् निर्मला । उनका अनुसार भदौ अन्तिम साता पतिले मदिरा सेवन गरी घर नछोड्ने भए छोराहरू मारिदिन्छु भन्दै कान्छालाई खोलामा बगाइदिए । उनलाई एक स्थानीय पसलेले उद्धार गरेर जोगाइदिए । त्यसपछि निर्मला छोरा च्यापेर रातारात भागिन् । माइती बाजुरा जान हिँडेकी उनी मष्टा गाउँपालिकाको बस्थल र नौलावन भन्ने जंगलमा ४ दिनसम्म हराइन् ।

करिब ३५ सय मिटर उचाइमा रहेको जंगलमा जाडो र भोकका कारण अर्धबेहोस अवस्थामा पल्टिरहेका उनीहरूलाई जयपृथ्वी नगरपालिकाको कैलाश गाउँका भेडापालक सुरेन्द्र सिंहले भेटेर उद्धार गरेका थिए । ‘चार दिनदेखि खाना नखाएका, जाडो र पानीले भिजेर सबैका ओठ काला भइसकेका थिए । सुरुमा त मरेर अररिएका हुन् कि जस्तो लागेको थियो । गएर छामेपछि महिलाले आँखा खोलेर पानी भनिन्,’ सुरेन्द्रले सुनाए, ‘बच्चा पनि ज्युँदै रहेछन् । खर्कमा लगेर दुई दिन स्याहार गरेपछि उनीहरूलाई बस्तीतिर पठाइदिएँ ।’

आफूले त्यस दिन नभेटेको भए भोकप्यास र जाडोले अररिएर तीनैजनाको मृत्यु भइसक्ने उनी बताउँछन् । त्यहाँबाट मष्टा गाउँपालिकाको रनाडा पुगेकी निर्मलालाई अहिले स्थानीय ध्वजबहादुर द्वालले संरक्षण दिइरहेका छन् । उनले १५ वर्षको उमेरमा लिमका गम्भीर बोहरासँग भारतमा विवाह गरेकी थिइन् । सानै उमेरमा बाबुसँगै भारत गएकी उनलाई माइती घर बाजुराको मार्तडी भन्नेसम्म थाहा छ । उनी विवाहपछि कहिल्यै माइतीको सम्पर्कमा गएकी छैनन् । आमाबाबुको अवस्था के कस्तो छ भन्ने पनि उनलाई थाहा छैन ।

सामान्य लेखपढ पनि नगरेकी निर्मलालाई घरेलु हिंसाविरुद्धको कानुनी उपचारबारे केही थाहा छैन । छिमेकीलाई आफूमाथिको यातनाबारे थाहा भए पनि पारिवारिक मामला भन्दै कसैले सहयोग नगरेको उनको भनाइ छ । बित्थडचिर गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बोहराले आफूलाई गम्भीर बोहराले दुई जनासँग बिहे गरेको बारे थाहा नभएको बताए । आफ्नो गाउँ टाढा रहेको भन्दै उनले निर्मलामाथिको यातनाबारेसमेत अनभिज्ञता दर्शाए । ‘महिलामाथि अन्याय भएको भए पीडकलाई कारबाही गरेर उनलाई न्याय दिन पहल गर्नेछु,’ उनले भने ।