जेष्ठ ४, २०८१ शुक्रबार

कोमलको कोमल मन:के शर्तमा फिर्ता लिइन उम्मेदवारी ?



दाङ- नेकपा एमालेले आगामी दिनमा जिम्मेवारी विहिन बनाएर नराख्ने प्रतिबद्धता गरेपछि कोमल वलीले प्रतिनिधिसभाका लागि दर्ता गरेको उम्मेदवारी फिर्ता गरेकी छिन । उनले आगमी दिनमा नेताहरुले बोलेको कुरा पुरा गर्ने विश्वासका साथ उम्मेदवारी फिर्ता गरेको बताइन ।

वलीले राजनितिप्रति आम सर्वसाधरणको विश्वास घुम्दै गइरहेको समयमा नेताहरुले प्रतिबद्धता गरे अनुसारको काम गर्नुपर्ने बताइन । पत्रकार सम्मेलनमा वोल्दै एमालेका नेता शंकर पोखरेलले  वली बहुमुखी प्रतिभाको धनी भएकोले पार्टीले त्यही अनुसारको जिम्मेवारी दिएर सिमित घेरमा नराख्ने बताए । उनले राष्ट्रिय स्तरको व्यक्तीत्व बनाइसकेकी वलीलाई त्यही अनुसारको जिम्मेवारीमा स्थापित गर्ने बताए ।

कोमल वलीको विज्ञप्ती जस्ताको तस्तै :

“याँ परिवेशमा देशलाई नयाँ ढंगले एकताबद्ध बनाउने, राष्ट्रिय स्वाभिमानको प्रवर्द्धन गर्ने र देशलाई समृद्धिको बाटोमा अग्रसर गराउने जिम्मेवारी नेकपा एमालेले पूरा गर्न सक्छ भन्ने आत्मादेखि मनन गरेकाले म सो पार्टीमा प्रवेश गरेकी हुँ।

जिम्मेवार सञ्चारकर्मी, देश र जनताले माया गरेको कलाकार र एक देशभक्त नागरिकको रुपमा मैले सँगालेको अनुभवलाई देश र जनताकै लागि कसरी सदुपयोग गर्न सकिन्छ भनेर चिन्तन गर्नु मेरो कर्त्तव्य पनि हो । त्यसैले जनप्रतिनिधिहरुको थलो संसद्‌मा गएर आफ्नो भूमिकालाई सशक्त बनाउन खोज्नु मेरो नाजायज आकांक्षा होइन, देश र जनताप्रतिको जिम्मेवारीबोधको अभिव्यक्ति पनि हो।

नेकपा एमालेका आदरणीय नेताज्यूहरुसँगको संवाद र उहाँहरुले व्यक्त गर्नुभएको सद्भावले पनि मलाई त्यो भूमिकाका लागि अझ बढी हौसला प्रदान गरेको थियो । तर, प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको मनोनयन दर्ता गर्ने दिनको पूर्वसन्ध्यामा पार्टीको सूचीमा मेरो नाम समावेश नभएको जानकारीले मलाई स्तब्ध र दुःखी बनाएकै हो । यो सूचनाले मलाई व्यक्तिगत मात्र होइन, सामाजिक रुपमा पनि आहत बनाएकाले मैले आफ्नो निर्दिष्ट जिम्मेवारी पूरा गर्न स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएकी हुँ।

तर, योबीचमा मलाई पार्टीमा प्रवेश गराउने श्रद्धेय नेता शंकर पोखरेलज्यू, अन्य नेतागणहरु, पार्टीका आदरणीय अभिभावकहरु, जिम्मेवार नेता तथा कार्यकर्ता, सामाजिक अग्रज, मेरा शुभचिन्तक, मान्यजन तथा प्रियजनहरुबाट पाएको सद्भाव र सहानुभूति मेरा लागि सर्वाधिक महत्वपूर्ण छ।

संवेदनशील घडीमा सबैतिरबाट मिलेको स्नेहले मलाई अझ बलियो आत्मविश्वासका साथ संगठित रुपमा राजनीतिक यात्रामा अघि बढ्न प्रेरणा मिलेको छ । त्यसैले मैले आस्था राखेको पार्टी नेकपा एमाले र समग्रमा वामगठबन्धनको जित मेरो लागि सर्वोपरि हो भन्ने मैले ठानेकी छु।”