बैशाख १४, २०८१ शुक्रबार

सबैभन्दा बढी कानुन बनाएर मदाने गाउँपालिका अगाडी



 

गुल्मी – गुल्मीको मदाने गाउँपालिकाले जिल्लामै सबैभन्दा बढी कानुन बनाएको छ। गाउँपालिकाको पहिलो र दोस्रो गाउँसभा तथा कार्यपालिकाको पूर्ण बैठकले गरि जिल्लाको स्थानीय तहहरूमध्ये सबैभन्दा बढी ऐन कानुन पारित गरेको हो।

मदाने गाउँपालिकाले अहिलेसम्म करिव ४० वटा ऐन कानुन तथा कार्यविधी पारित गरेको प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिए। भण्डारीका अनुसार बुधवार सम्पन्न दोस्रो गाउँसभाले ७ वटा ऐन कानुन पारित गरेको छ। गाउँकार्यपलिकाको पूर्ण गाउँसभाले मदाने गाउँपालिका प्रशासकीय कार्यविधी नियमित गर्ने ऐन २०७५, बजार अनुगमन २०७५, आर्थिक कार्यविधी नियमित तथा ब्यवस्थित गर्न बनेको कानुन २०७५ र गाउँपालिकाको सहकारी ऐन २०७५ पारित गरेको प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताए।

दोस्रो गाउँसभाले न्यायिक समिती ऐन २०७५, र मदाने गाउँपालिका एफएम रेडियो ब्यवस्थापन तथा सञ्चालन कार्यविधी २०७५ समेत पारित गरेको छ। दोस्रो गाउँसभामा पालिका उपप्रमुख सरिता खड्काले दोस्रो गाउँ सभाको कार्यसुचि प्रस्तुत गरेकी थिइन। सभाअध्यक्षले प्रस्तुत गरेको कार्यसुचिलाई दोस्रो गाउँसभाले बहुमतले पारित गरेको पालिकाले जनाएको छ।

गाउँपालिकाले मिटरवक्स वितरण,दैवी प्रकोप ब्यवस्थापन, सिलाई मेसिन तथा आरन ब्यवस्थापन, सार्वजनिक लेखा परिक्षण, स्वास्थ्य उपचार विशेष सहयोग,जनता आवास कार्यक्रम,पशु सेवा कार्यक्रम सञ्चालन, मल विउ तथा औजार वितरण कार्यविधी लगायतका ऐन कानुन तथा कार्यविधीहरू गरी ४० भन्दा बढी पारित गरेको हो।