बैशाख २६, २०८१ बुधबार

क्रिकेट रंगशाला शुरु भो,अब अलपत्र पार्ने छुट कसैलाई छैन:रेणु दाहाल



चितवन-भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एक महिनामा क्रिकेट रंगशालाको काम सोचेभन्दा बढी भएको बताएकी छिन् । 

भरतपुर महानगरपालिकाले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा महानगर प्रमुख दाहालले सम्झौता भएको मितिले एक महिना कटेर आएको र यो अवधिमा सोचेको भन्दा बढी काम भएको बताइन्। कार्यक्रममा महानगर प्रमुख दाहालले भनिन्, ‘यो एक महिनामा धमाधम निर्माणका काम अघि बढिरहेको छ, कपाउण्डिङको काम भइरहेको छ ।

बस्ने टहराहरु बनिरहेका छन्, मास्टर प्लानको योजना बनिरहेको छ ।’ प्रमुख दाहालले एक महिनामा सोचेको भन्दा बढी काम भएकोले तोकिएकै समयमा रंगशाला निर्माण काम सम्पन्न हुने बताइन् । धुर्मुस सुन्तली फाउन्डेसनले डीपीआर भएको मितिले दुई वर्षभित्रमा रंगशाला सक्ने जनाएको छ ।

 कार्यक्रममा महानगर प्रमुख दाहालले चितवनको गौरवको आयोजना भएको हुनाले यसमा अझ चितवनवासी लाग्नुपर्ने बताइन् । उनले भनिन्, ‘अब रंगशाला सुरु गरिसकियो, यो जसरी पनि बनाउनु नै पर्छ, रंगशाला अलपत्र पार्ने छुट कसैलाई छैन, नकारात्मम टिप्पणी नगरौँ ।’कार्यक्रममा प्रमुख दाहालले सामाजिक सञ्जालमा फैलिएका केही तीता टीकाटिप्पणीप्रति चिन्ता जाहेर गरेकी थिइन् ।

उनले भनिन्, ‘स्थानीय सरकार भरतपुर महानगर हिजो जग्गा उपलव्ध गराउनदेखि सम्झौता हुँदै आज निर्माणको काम दिनरात नभनी लागिरहेको छ, यसमा सबैको जोडबल गर्न जरुरी छ ।’ महानगर प्रमुख दाहालले मिलेको खण्डमा भरतपुर महानगरबाट रंगशालाको लागि वार्षिक १० करोड विनियोजन गर्न आफू तयार भएको बताइन् ।

कार्यक्रममा धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले आफूहरुलाई इमानले यहाँसम्म ल्याएको बताए । उनले भने, ‘अबको ५ महिनाभित्र गुरुयोजना तयार हुन्छ, हामीले विश्वको रंगशालाको अध्ययन गरिरहेका छौँ ।’