चैत्र १६, २०८० शुक्रबार

१५ दिने सुत्केरी देखि गाउँपालिका उपाध्यक्ष सम्म परीक्षामा



दाङ – आजदेखि शुरु एसइइ परीक्षामा दाङमा १५ दिने सुत्केरी सहभागी भएकी छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ गाइडर निवासी सुशीला भण्डारी १५ दिनको बच्चा कोखिलामा च्यापेर परीक्षामा सहभागी भएकी हुन् ।

बच्चा हेर्न उनका आफन्त पनि सँगै परीक्षा केन्द्रमा पुगेका छन् ।

महेन्द्र माध्यामिक विद्यालय तुलसीपुर बाट खुल्ला विद्यालयमा अध्ययन गरेकी भण्डारी माध्यामिक विद्यालय सेन्टर तुलसीपुर केन्द्रबाट परीक्षा दिइरहेकी छन् ।

यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाको आइतबार बिहान ८ बजेदेखि सुरु भएको हो ।

परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुँदै छन् ।

परिक्षा दिने छात्रा दुई लाख ३६ हजार ४४५ जना छन् भने छात्रा दुई लाख ३८ हजार ५५८ रहेका छन्।

प्रदेश नं १ बाट ८३ हजार ८१८, प्रदेश नं २ बाट ७० हजार ५१८, प्रदेश नं ३ बाट एक लाख ६०२, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश नं ५ बाट ७६ हजार ९८३, कर्णाली प्रदेशबाट ३५ हजार ६२४ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९७२ परीक्षार्थी सामेल हुनेछन् ।

यस वर्षदेखि पहिलोपटक सङ्घीय संरचनाको स्वरुपअनुसार चैत २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी छन् ।

गाउँपालिका उपाध्यक्ष पनि सहभागी

दाङकाे गढवा गाउँपालिकाकी उपाध्यक्ष शान्ति चौधरी पनि परीक्षामा सहभागी भएकी छन् ।

जनता माध्यमिक विद्यालयमा कक्षा पाँचसम्म पढेपछि छुटेको पढाइलाई उनले ३२ वर्षपछि निरन्तरता दिन थालेकी हुन् ।

‘ठूलो परिवार थियो। बुवाले राजनीति गर्नुहुन्थ्यो। आमाले एक्लै घरको काम गर्नुपर्ने। आमालाई सघाउन पनि मैले पढाइ छाडेँ,’ चौधरी सम्झिन्छिन्, ‘तर, पढाइ धेरै ठूलो कुरा रहेछ। पढाइ छैन त केही छैन। त्यही भएर अहिले फेरि स्कुल भर्ना भएको छु।’

४८ वर्षकी शान्तिका २ छोरी र एक छोरा छन्। जेठी छोरी उत्तम कम्प्युटर साइन्स पढ्छिन्। कान्छी छोरी दिपा ल्याव टेक्निसियन पढ्दै छिन्। छोरा सुनिल सव–ओभरसियरको पढाइ सकेर क्याम्पस पढ्दैछन्। श्रीमान राजेन्द्र चौधरी संघ संस्थामा आवद्ध छन्।

उपाध्यक्षको जिम्मेवारी धेरै रहेकाेकारण नियम कानुन पनि जान्नु पर्ने र अरु महिला दिदी बहिनीलाई पनि पढ्ने हौसला थपियोस भनेर म पढ्न थालेकाे उनले बताइन् ।