बैशाख १३, २०८१ बिहीबार

५५ वर्ष अघिको डरलाग्दो महामारी : दृष्टि गुमाएर पनि बाँचेकी गणेशीकाे दुःखद् कथा



हेरीरहेको आँखा एक्कासी बन्द गरेर तपाइँ कति समय बस्न सक्नुहुन्छ ? १ मिनेट ? २ मिनेट वा १० मिनेट ? त्योे भन्दा धेरै त गाह्रै पर्छ ।

तर गुल्मीको रेसुङ्गा नगरपालिका ३ बेहोरेकी गणेशी कुँवरको हेर्दाहेर्दै आँखा बन्द भएको ५५ वर्ष भयो । सायदै कल्पना गर्न सकिन्छ, सुन्दा पनि अप्ठारो लाग्ने उनको भोगाइ कति अप्ठ्यारो होला ?

गणेशी ९ बर्षको उमेर सम्म आँखा देख्थिन् । त्यही बेला आएको बिफर रोगले उनीसहित दुई भाइ र एकजना दिदीलाई पनि समात्यो ।

त्यो बेला बिफरको उपचार पत्ता नलागेकोले गाउँलेले जङ्गलमा राखेर चन्दा उठाएर खाने ब्यबस्था मिलाउथे ।

तीन महिना सम्म जंगलमा बस्दा उहाँको भाइहरुको घाँटिमा खटिरा निस्किएर खानेकुरा पनि निल्न नसक्ने भए भने गणेशीको आँखाको भित्र खाटिरा निस्कियो । दिदीलाई भने सामान्य खटिरा भएर निको भयो ।

त्यो बेला बिफर भएकोलाई कसैले छुँदैनथे । त्यसैले पानी समेत निल्न नसक्ने भएका भाइहरु गुमाउनुप¥यो ।

त्यसमाथी अर्को पीडा उनी आफैले आँखाको ज्योति गुम्यो । सायद अहिले को जस्तो परिस्थिति हुन्थ्यो भने त उपचार हुन सक्ने थियो होला, तर त्यो बेलाको अस्पताल र समयमा उपचार को अभावले गर्दा जिवनभर आफ्नो अँखाको ज्योति गुमेको उनको भनाई छ । ‘भाइहरु गुमाएर यो दुःख भोग्नलाई बाच्नुप¥यो’, उनि भन्छिन् ‘ के गर्नु आँखा नदेखे पनि बाच्नै पर्यो, छम्छ्माउदै भयपनी सक्दो काम गर्न पर्यो ।’

दिदीलाई भने छालामा मात्र घाउ निस्कियकोले अपाङ्ग हुनु परेन । संयोगले बाँचेकी उनै दिदीले गणेशीलाई पालेकी छन् । अहिले उनी खाना पकाउने, पानी भर्ने र छमछमाएर गर्न सकिने घरको सानोतिनो काम गर्छिन् ।

तर बिफरले बाँचेर बहिनीका लागि भगवान बनेकी दिदी पनि आर्थिक रुपमा कमजोर रहेकोले सहयोगको लागि उनको याचना छ ।

‘बानी परेकोले घर वरपरको छिमेकमा पनि जाने गर्छु, दिदी मलाई असाध्यै माया गर्नुहुन्छ, दिदी मेरो लागि भगवान हो’, उनी भन्छिन्, ‘मेरो लागि कसैले सहयोग गरे मेरो आशिक लाग्ने थियो ।’