बैशाख १४, २०८१ शुक्रबार

देउरानीसँगको सम्बन्धको पोल खुल्ने भएपछि पेशेवर अपराधि प्रयोग गरी हत्या



गत असोज १० गते सप्तरीको तिरहुत गाउँपालिका–२ मैनाकडेरीकी दाईमनदेवी यादवको हत्या देउरानीसँगको अबैध सम्बन्धको पोल खुल्ने डरले भएको खुलेको छ ।

हत्याको अभियोगमा पक्राउ परेका सप्तरी मैनाकडेरीका २१ वर्षीय अजयकुमार यादव, ५२ वर्षीय ओमप्रकाश यादव र कंचनरुप नगरपालिका ११ ठेलीयाका ५५ वर्षीय बमबहादुर साहले यस्तो रहस्य खोलेको प्रदेश नम्बर २ प्रहरी कार्यालयका प्रवक्ता एसपी कृष्ण प्रसाइँले जानकारी दिए।

उनीहरुले असोज १० गते राति सुतिरहेको ठाउँबाट उठाई आँगनमा लगेर घाँटीमा डोरी कसी हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतकको देबरानीसँग प्रतिवादी ओमप्रकाश यादवको अनैतिक सम्बन्ध रहेको थाहा पाएकाले रिसिइबी साध्न उनको हत्या योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रतिवादी अजय यादवसँग मृतकको जग्गा सम्बन्धि विवाद थियो।

मृतकको दुई विघा जग्गा अजय यादवको बुवाले २०४७ सालदेखि जोतभोग गर्दै आएकोमा बिवाद थियो। अर्का प्रतिवादी बमबहादुर साह विगतमा मधेसी मुक्ति टाईगर्स नामक सशस्त्र संगठनमा संलग्न थिए। उनी शिक्षक रामनारायण साह हत्या अभियोगमा ८ वर्ष जेल सजाय भुक्तान गरी फर्केका थिए। पेशेवर अपराधी साहलाई यादवद्वयले महिला हत्यामा संलग्न गराएको एसपी प्रसाइँले बताए।

महिला हत्याको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय सप्तरीको टोली, प्रदेश,२ प्रहरी कार्यालयबाट प्राविधिक सहितको टोली खटिएको थियो। प्रदेश प्रहरी कार्यालयको टोलीले १६ दिनपछि हत्याको कारणसहित तीनै जना प्रतिवादीलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

तीनै जना मध्ये दुई जना कोहि आउँछ कि भनेर घरको मूल गेटमा बसेर पहरा गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बमबहादुर साहले महिलालाई घरबाट तानेर आगनमा लडाई घाँटीमा डोरी कसेर हत्या गरेको प्रदेश नम्बर २ प्रहरी कार्यालयका प्रवक्ता एसपी कृष्ण प्रसाइँले जानकारी दिए। प्रहरीसमक्ष तीनै जना अभियुक्तले अपराध स्वीकार गरेको प्रसाइँले बताए। मृतकका श्रीमान् विराटनगरमा शिक्षण पेशामा छन्। एक छोरा दिल्ली र अर्का काठमाडौंमा बस्छन्। परिवारमा अन्य कोही नभएका कारण यादव एक्लै बस्थिन्।

उनको हत्या व्यक्तिगत रिसिइबीका कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।