बैशाख १६, २०८१ आईतबार

मोटरमा बसेर हात हल्लाउनेहरू हो ! ख्याल गर, जनताले मोटरबाट ओरालेर सजाय दिन सक्छन्



पाण्डवहरूले सबै राजपाठ छाडेर पाँच गाउँमात्र माग्दा दुर्योधनले सियोको टुप्पो जति जमिन पनि दिन्न भने। त्यही घमण्डले उनले आफूसहित कौरव वंशै नष्ट गरे। दृष्टिहीन धृतराष्ट्रले पुत्र मोहमा दुर्योधनको एकपछि अर्को अपराधलाई बेवास्ता गर्दै गए। त्यसैले उनले छोराहरूको श्राद्ध गर्नुपर्‍यो। भान्जा कृष्णलाई मारेर अजम्मरी हुन खोज्ने कंस पनि अविवेक र रिसबाट आफैं नष्ट भए। कंसलाई उनकी पत्नीसमेत सहकर्मीले बारम्बार सम्झाएका पनि हुन्। आफूलाई सर्वशक्तिमान ठान्ने रोग लागेकाले ज्ञानज्ञुन उनका लागि विष समान थियो। रावणमा पनि सम्पत्ति, वासना र घमण्डकै अतिले समाप्त भए। उनले शिवजीबाट पाएका यी तीनै शक्तिका बिचमा के समानता छ भनेर हेर्दा छर्लंगै हुन्छ। आफू सर्वेश्रेष्ठ र अरू तुच्छ ठान्ने सोचले उनको अन्त्य भयो।

दुर्योधन, कंश र रावणको अहंले हस्तिनापुर, मथुरा र लंकाका साधारण जनताले दुःख पाउनु पर्‍यो। हामी त्यही नियति भोगी रहेका छौं। धृतराष्ट्रको पुत्रमोह, दुर्योधनको दर्प, भीष्म र कर्णको विवशताले महाभारत निम्तायो। हामी पनि त्यतै त गइरहेका छैनाैँ?

प्रकृतिको नियमानुसार हरेकको अन्त्य हुन्छ। यो राजनीतिक नौटंकीको पनि अन्त्य हुने नै छ। इरानका शाह पहलवीले २ हजार ५ सय वर्ष पुरानो सत्ताका साथै देशै छाडेर भाग्नु पर्‍यो। इदी अमिनजस्ता क्रुर र नरभक्षी शासकले पनि राजपाठमात्र हैन देश युगान्डा छाडेर भाग्नुपर्‍यो। फिलिपिन्सका फर्डिनान्ड मार्कोसले पनि जनआक्रोशको वेग थाम्न नसकेपछि शीर झुकाएर भाग्नै पर्‍यो। हाम्रै देशका ज्ञानेन्द्रको कथा त कसैले बिसनु नपर्ने हो।

तर, जनता भोकले छटपटिँदा, सुत्केरीहरू प्रसव वेदनामा अर्धमृत हुँदा, मृत्युपछि आफन्तको अन्तिम संस्कार गर्न पनि नपाउँदा, नवजात शिशुले दुध खान नपाउँदा पनि अहम् र शक्ति प्रदर्शन भइरहँदा इतिहासको सबै शिक्षा बिर्सेको देख्दा सत्ताको मोह वा आफू बलियो छु भन्ने भावनाले बढी नै प्रेरित भए कि भन्ने लाग्छ।

हुन त नेताहरूको खाना रोकिएको छैन, पेय पदार्थ र मिष्ठान्नको कमी छैन, एक बटुको दुध नपाएर शिशु रन्थनिएको देख्नु परेको छैन। त्यसैले कंस झैँ सबैलाई जित्न सक्षम छु भन्ने अहंकारले ग्रस्त भएर उनीहरू बसिरहेछन्। रावण झैँ मैले जे गरे पनि हुन्छ भन्ने घमण्डले फुलेर। जहिलेसम्म सहन सक्छन् जनताले दुःख पाउन् न हामी हाम्रो हठ किन छाड्नें भन्ने घमण्डमा नेताहरू छन्। यत्रा मानिसको पीडा, आँसु र वेदनाको श्राप लाग्दैन होला र ती नेतालाई? आफूलाई सर्वशक्तिमान मान्ने हिटलरले आत्महत्या गर्नुपरेको थियो। हजारौँ इराकीलाई एकै दिनमा मार्ने सद्दाम हुसेन पनि झुण्डिन पर्‍यो। आफूलाई जनताको आँखाको नानी ठान्ने रुमानियाका निकोलाइ चाउसेस्कुलाई तिनै जनताले मारे।

जनता मेरा पछाडि छन् भन्ने नेताहरू ज्यान जोगाउन नसकिने डरले बाटोमा एक्लै हिँड्न सक्तैनन्। मोटरमा बसेर हात हल्लाउन रमाउनेहरूले बुझुन् जनतालाई धेरै बिच्किए भने उनीहरू पनि मोटरबाट ओरालेर सजाय दिन सक्छन्।

नेताहरूले जनतालाई दिएको पीडाको आँसु हतियार बनेर ‘बुमर्‍याङ’ भएपछि मात्रै बुद्धि आउने हो कि? कंस र रावणको जस्तो सर्वनाशको बाटो रोज्ने हो कि? धृतराष्ट्रले झैँ सन्तानको चितामा आसु खसाल्ने हो कि? समयले नै बताउला। किनभने समय सबभन्दा बलवान् हुन्छ। फेसबुकबाट