बैशाख २५, २०८१ मंगलबार

दिल्ली महिला आयोग र भारतीय प्रहरीले उद्धार गरिदियो १९ नेपाली



काठमाडाैं । मानव तस्करहरुले काममा लगाई दिने प्रलोभनमा भारत पु¥याएका १९ जना बालबालिकालाई भारतीय महिला आयोग र दिल्ली प्रहरीले उद्धार गरि नेपाल पठाएको छ ।

तस्करहरुले काममा लगाईदिने प्रलोभनमा भारतको गाँजियावादबाट पु¥याएका नवलपरासी र दाङ जिल्लाका बालबालिकालाई महिला आयोग र प्रहरीले उद्धार गरी नेपाल पठाएको हो ।

१३ देखि १७ उमेरका बालबालिकालाई रुपन्देहीको सुनौली नाकाबाट गत असोज १२ गते तस्करहरुले उत्तरप्रदेशको गाँजियावाद पु¥याएका थिए ।

दिल्ली प्रहरीले नेपाल सरकारलाई बालबालिकाको उद्धार गरी बालगृहको संरक्षणमा राखिएको जानकारी पठाएपछि नेपालको परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, नेपाली राजदूतावास नयाँ दिल्ली, राष्ट्रिय बालअधिकार परिषद् र आफन्त नेपालको पहलमा नेपाल ल्याई परिवारसँग पुनर्मिलन गराइदिएका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण शाखाको समन्वयमा परिवारमा पुनर्मिलन गराइसकेको मन्त्रालयका प्रवक्ता टेकराज निरौलाले बताए ।

उनीहरुलाई सुनौली नाकासम्म भारतले नै ल्याइदिएको र नेपालले सुनौली नाकाबाट बुझेर नवलपरासीमा ल्याई सबै बालबालिकालाई मङ्गलबार परिवारमा पुनर्मिलन गराइएको हो ।

ती बालबालिकालाई उद्धार गर्दा लागेको सम्पूर्ण खर्च मन्त्रालयमा रहेको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, पुनस्थापना कोषबाट व्यहोरिने मन्त्रालयले जनाएको छ ।