बैशाख १, २०८१ शनिबार

दशैंमा पुरूषलाई आशिष तर महिलाको स्तुतिगान मात्र



आरती चटौत

पुरुषलाई टीका लगाइदिँदा दिइने आशिष 

आयु द्रोण सुते, श्रीयं दशरथे
शत्रुक्षयं राघवे, ऐश्वर्य नहुषे

गतिश्च पवने, मानं च दुर्योधने
सौर्यं सान्तनवे, वलं हलधरे

सत्यंच कुन्तीसुत, विज्ञानं विदुरे
भवन्तु भवतां कीर्तीश्च नारायणे

यसको अर्थ
द्रोण पुत्र अश्वत्थामाको जस्तो आयु होस्, राजा दशरथको जस्तो कृति होस्, राघव अर्थात् रामको जस्तो शत्रु हराउने क्षमता होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, हावाको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस् ।

सूर्यपुत्र झै शान्त रहनू, भीमको जस्तो बल होस्, कुन्तिका छोरा युधिष्ठिरको जस्तो सत्यवान हुनू, विदुरजस्तो ज्ञानी हुनू अनि नारायणको जस्तो कीर्ति रहोस् ।

महिलालाई टीका लगाइदिंदा दिइने आशीर्वाद

जयन्ती मंगलाकाली
भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवधात्री
स्वाहा स्वधा नमोस्तुते ।

यसकाे अर्थ 
ती देवी जसले सम्पूर्ण संसारलाई नै विजय गर्न सक्ने सामर्थ्य राख्दछिन् । जो हरेक अन्धकारको निदान गर्न सक्दछिन्, समयको पाबन्दीभन्दा पर रहेकी ती देवी जो मानव खप्परको माला लगाउँदछिन ।

अनि हरेक प्रकारका दुखःको अन्त्य गर्न सक्छिन् । यो जगतको रक्षा गर्ने हे देवी यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौं ।

पुरुषलाई आशिष – महिलालाई दिइने आशिषको यस श्लोकमा आशिष नभए पनि देवीको स्तुति गरी देवीजस्तै सामर्थ्यवान मानी नमन गरेको भाव व्यक्त भएको पाइन्छ ।