बैशाख १८, २०८१ मंगलबार

कोरोनाबाट चितवन र सुनसरीमा ३ महिलाको निधन



कोरोना भाइरसको संक्रमणबाट चितवन र सुनसरीमा २ महिलाको निधन भएको छ ।

पूर्वी चितवनको राप्ती नगरपालिका–१० बस्ने ३९ वर्षीया महिलाको भरतपुर अस्पतालमा र सुनसरीको इटहरी–६ की ९ वर्षीया बालिका तथा धरान–१ की ६१ वर्षीया महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको हो ।

कात्तिक १५ गते श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएकी चितवनीकी महिलालाई १७ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको अवस्था जटिल बनेपछि सोही दिनदेखि कोभिड आइसियूमा राखेर उपचार थालिएको थियो ।

त्यस्तै असोज ३० गते कोरोना संक्रमण पुष्टिभएपछि कात्तिक ५ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी सुनसरीकी ६१ वर्षीया महिलाको आज बिहान सवा ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनी श्वास प्रश्वास र उच्च रक्तचापबाटसमेत पीडित रहेको अस्पतालले जनाएको छ ।

यसैगरी ९ वर्षीया बालिकाको आजै बिहान ३ः२५ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता श्रेष्ठले जानकारी दिए ।

ती बालिकामा यही कात्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई भोलिपल्टै कोभिड अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।