चैत्र १५, २०८० बिहीबार

राष्ट्रिय महिला आयोगको अध्यक्षमा कमला पराजुली, सदस्यमा कृष्णकुमारी पौडेल र विद्या सिन्हा



राष्ट्रिय महिला आयोगको अध्यक्षमा कमला पराजुली सिफारिश भएकी छन् ।

संवैधानिक परिषद्को आज बसेको बैठकले कमला पराजुलीलाई अध्यक्षमा सिफारिस गरेको हो ।

बैठकले सदस्यमा कृष्णकुमारी पौडेल र विद्या सिन्हाको नाम सिफारिश गरेको छ ।

अध्यक्षमा सिफारिश पराजुली विगत लामो समयदेखि नेपालको महिला आन्दोलनमा संलग्न अखिल नेपाल महिला संघकी नेतृ हुन् । उनी इन्सेक तथा सञ्चारिका समूहको सदस्य हुँदै उपाध्यक्ष समेत भएकी थिइन् ।

मोरङको बयरवनमा जन्मिएकी उनी नेकपा एमाले केन्द्रीय प्रचार विभागको सदस्य हुनुका साथै नवयुगको सम्पादक मण्डलको सदस्यको रूपमा १० वर्ष काम गरेकी थिइन् ।
‘‘नेपालमा नारीवाद’ पुस्तककी लेखक कमलाका निरुत्तरित प्रश्नहरू, नलेखिएका कथा, क्षितिजको बदलिदो रङ्ग (सामाजिक उपन्यास) लगायतका कृतिहरू प्रकाशित छन् ।

दुवै संविधानसभाको निर्वाचनमा उनी नेकपा एमालेको तर्फबाट समानुपातिक सांसदका रुपमा सिफारिश भएकी थिइन् भने गत संसदीय निर्वाचनमा प्रदेशसभाका लागि समानुपातिकमा सिफारिश भएकी थिइन् ।

उनले आफूले महिलाका मुद्दालाई नजिकबाट नियालेको र समानताको लागि लामोसम्म वकालत गरेकाले आगामी दिनमा सबैको सल्लाह र सुझाबलाई शीरोधार्य गर्दै महिला विकासको क्षेत्रमा काम गर्ने बताइन् ।