बैशाख १०, २०८१ सोमबार

गीता पाठक एमिकस क्युरीमा जाने पहिलो महिला



नेपालमा पहिलो पटक एमिकस क्युरी (अदालतको सहयोगी) मा महिलाको नाम सिफारीस भएको छ । सर्वोच्च अदालत बार एशोसिएशनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइका लागि नेपाल बार एसोसिएसनसँग मागेकोे एमिकस क्युरी गठन गर्न वरिष्ठ अधिवक्ता गीता पाठकको नाम सिफारिश गरेको हो।

सर्वोच्च बारले यसअघि शुक्रबार बैठक बसेर बारका बहालवाला अध्यक्ष वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी र हालै निर्वाचित अध्यक्ष तथा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको नाम सिफारिस गरेकोमा अधिकारीलाई कोरोना संक्रमण देखिएकोले सोमबार पाठकको नाम सिफारिश गरेको बारका उपाध्यक्ष राजु खड्काले जानकारी दिए ।

बारले ‘अदालतका निष्पक्ष साथी’मा अर्को व्यक्ति पठाउँदा समावेशी पनि हुने भएकाले वरिष्ठ अधिवक्ता पाठकको नाम सिफारिश गरेको उपाध्यक्ष खड्काको भनाइ छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले सर्वोच्च अदालत बारबाट दुई वरिष्ठ अधिवक्ता वा अधिवक्ता एमिकस क्युरीका लागि झिकाउने आदेश जारी गरेको थियो ।