बैशाख १७, २०८१ सोमबार

आज सबै जिल्लामा पुग्दै छ कोरोना खोप, ३०० अस्पतालबाट खोप लगाइने



भारतले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खाेप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पुग्ने भएको छ । भारतबाट ल्याएर स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको खोप सबै आजदेखि प्रदेशमा पुग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

प्रदेशबाट नै जिल्ला अस्पतालमा खोप आवश्यकताका आधारका वितरण गरिएको खोप अहिले अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइने उनले बताए।

उनका अनुसार सात प्रदेश र ७७ जिल्लामा गरी करीब ३०० अस्पतालबाट खोप लगाइने योजना रहेको र काठमाडौं उपत्यकामा भने १० भन्दाबढी अस्पतालमा खोप वितरण गरिनेछ ।

सरकारले पहिलो चरणमा स्वास्स्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी र स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई खोप दिने योजना बनाएको छ ।

पहिलो खोप लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने मन्त्रालयका प्रवक्ता डा गौतमले बताए । खोप लगाउन शुरु गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको तयारी छ।

भारत सरकारले माघ ८ गते अनुदानमा नेपाललाई १० लाख मात्रा खोप अनुदानमा उपलब्ध गराएको छ । माइनस दुई डिग्री सेल्सियसदेखि माइनस आठ डिग्री सेल्सियसमा राख्न सकिने कोभिशिल्ड खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ ।