बैशाख २५, २०८१ मंगलबार

चरेसका ग्राहक खोज्दै हिँडेका २ महिला पक्राउ



काठमाडौँ — अबैध लागूऔषध चरेर बिक्रीका लागि ग्राहक खोज्दै गरेका २ जना महिलालाई प्रहरीले काठमाडौंको रविभवनबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले दक्षिणकाली नगरपालिका–७ घर भई बलम्बु बस्दै आएकी ३७ वर्षीय रीता खड्का र थाक्रे गाउँपालिका–९ धादिङकी २९ वर्षीय अमृता तामाङलाई ६ केजी ८ सय १६ ग्राम चरेस र ६ लाख ६२ हजार नगदसहित रविभवनबाट पक्राउ गरेको हो ।

सोमबार पक्राउ परेका दुवैजनालाई मंगलबार अदालतबाट म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको छ । वृत्तका डीएसपी अपिल बोहोराका अनुसार खड्काको झोला खानतलासी गर्दा ३ सय १२ ग्राम र तामाङको साथबाट ४ सय ४ ग्राम चरेस बरामद गरिएको थियो । त्यसपछि अमृता तामाङको कोठाको खाटमुनी लुकाइएको अवस्थामा ६ केजी ९० ग्राम चरेस भेटिएको थियो ।

दुवैजनालाई लागूऔषध नियन्त्रण ऐन अनुसार अनुसन्धान भइरहेको बोहोराले बताए । बोहोराका अनुसार पक्राउ परेका महिला चरेस र गाँजाका पेसेबर कारोबारी हुन् । पछिल्लो पटक ग्राहक खोज्दै रविभवन क्षेत्रमा आएका दुवैजनालाई गोप्य सूचनाका आधारमा नियन्त्रणमा लिएर खानतलासी गर्दा केही परिमाणमा भेटिएको र पछि कोठा खानतलासी गर्दा थप चरेस बरामद भएको डीएसपी बोहोराले जानकारी दिए ।

आरोपित तामाङ यसअघि पनि थानकोटबाट पक्राउ परेकी थिइन् । उनले प्रहरीलाई दिएको बयानमा श्रीमानको दुवै मृगौला फेल भएको र उपचारका लागि पैसा जुटाउन चरेस कारोबारमा लागेको उल्लेख गरेकी छन् । यस विषयमा अनुसन्धान भइरहेको डीएसपी बोहोराको भनाइ छ ।