बैशाख १७, २०८१ सोमबार

श्रीमतीलाई बञ्चरो प्रहार गरि सिन्धुलीबाट भागे काभ्रेको जंगलमा लुकेका व्यक्ति पक्राउ



जिल्ला प्रहरी कार्यालय सिन्धुलीले हरिहरपुरगढी गाउँपालिका–१ चिसापानी बस्ने ४४ वर्षीय शेरबहादुर भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।

माघ ९ गते राति श्रीमती रमामाया घलान (बजु)लाई टाउकोमा बञ्चरो प्रहार गरी भागेका भुजेललाई काभ्रेपलाञ्चोकबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी श्यामबहादुर खत्रीका अनुसार शेरबहादुरलाई सिन्धुली जिल्ला अदालतबाट दिन १० को म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

बन्चरो प्रहारबाट गम्भीर घाइते रमामायाको भरतपुर अस्पताल लैजाँदै गर्दा माघ १० गते बाटैमा मृत्यु भएको थियो । फरार रहेका शेरबहादुरलाई खोज्ने क्रममा काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका–४ भण्डारी गाउँस्थित जङ्गल छेउ बाटोमा लुकिछिपी बस्दै आएको अवस्थामा पक्राउ गरिएको थियो ।