बैशाख १४, २०८१ शुक्रबार

महिला महासंघ खडा गरिँदै



महिलाका विषयमा सामूहिक आवाजका लागि महिला महासङ्घ गठन गरिने भएकाे छ । देशमा विभिन्न कालखण्डमा राजनैतिक परिवर्तन भए पनि महिलाका विषयले स्थान नपाएकोले तिनको नीतिगत रुपमा अर्थपूर्ण सहभागिताका लागि महिला महासङ्घको गठन हुने भएकाे हाे ।

महिला महासङ्घ गठनको संयोजन गरिरहेको शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल ‘सङ्कल्प’ले गृहकार्य स्वरूप प्रदेशस्तरीय दुईदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । अभिमुखीकरणको सहजीकरण गर्दै सङ्कल्पका अध्यक्ष लीली थापाले महिला सहभागिताकाे नीतिगत रुपमा अर्थपूर्ण सहभागिताका लागि महासंघकाे जरूरी रहेकाे बताइन् ।

“देशमा जस्तेसुकै परिवर्तन आए पनि महिलामैत्री नीति बन्न सकेको छैन, द्वन्द्वपीडित, एकल महिलाले न्याय पाउन सकेका छैनन्, आर्थिक सशक्तीकरणका विषय पनि ओझेलमा छन्”, उनले भनिन्, “यी विविध विषयका लागि अब महिला महासङ्घले सामूहिक आवाज उठाएर जानेछ ।”

थापाका अनुसार महासङ्घको सदस्य बन्नका लागि महिलाले नेतृत्व गरेको र कम्तीमा दुई वर्षदेखि महिला तथा बालबालिका क्षेत्रमा काम गरेको क्रियाशील संस्था हुनुपर्नेछ । कुनै पनि राजनीतिक दलको जिम्मेवार पदमा बसेका व्यक्ति संस्थाको सदस्य बन्न पाउने छैनन् ।

गण्डकी प्रदेशबाट सहभागी महिला प्रतिनिधिले महासङ्घले उठान गर्नुपर्ने विषयमा आआफ्नो धारणा राखेका थिए । विशेषगरी नेतृत्व तहमा महिलाको अर्थपूर्ण सहभागिता, हिंसा न्यूनीकरण, आमाका नामबाट नागरिकता, विभेदकारी कानूनको अन्त्य, स्रोत साधनमाथि महिलाको पहुँच, समानताका लागि समतामूलक अभ्यासबाट अवसर , लैङ्गिकक उत्तरदायी तथा समावेशी शासनमा जोड दिनुपर्ने सुझाव दिएका थिए ।

गण्डकी प्रदेशका महिला तथा बालबालिका क्षेत्रमा क्रियाशील १५ संस्थाका महिला प्रतिनिधि उपस्थित सो अभिमुखीकरणमा महिला महासङ्घ गण्डकी प्रदेश तदर्थ समितिमा आमा मिलन केन्द्रलाई संयोजकका रुपमा चयन गरेको सङ्कल्प गण्डकी सचिव प्रमिला तझ्याले जानकारी दिइन् । यसरी प्रदेशबाट समन्वय गर्दै संघमा समिति गठन गर्ने जनाइएकाे छ ।