बैशाख १३, २०८१ बिहीबार

संवैधानिक आयोगमा नियुक्त पदाधिकारी मध्ये ८ जना महिला, को कहाँ (सूचीसहित)



काठमाडाैं । राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रिय महिला आयोगकाे अध्यक्ष र पदाधिकारी सहित विभिन्न ११ संवैधानिक निकायमा ३२ जना पदाधिकारी नियुक्त गरेकी छन् ।

संवैधानिक परिषदको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले महिला आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानवअघिकार आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, दलित आयोग, समावेशी आयोग, मधेसी आयोग, आदिवासी जनजाति आयोग, थारु आयोग र मुस्लिम आयोगमा पदाधिकारी नियुक्त गरेकी हुन् । नियुक्त हुनेमध्ये ९ जना महिला छन् । सबैकाे आज पद तथा गोपनियताको शपथ भइसकेको छ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ‌ओलीको अध्यक्षतामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थितीमा बसेको संवैधानिक परिषद्को बैठकले उनीहरूलाई नियुक्तिका लागि सिफारिस गरेका थियो ।

यसरी नियुक्त हुनेमध्ये राष्ट्रिय महिला आयोगमा अध्यक्ष कमलाकुमारी पराजुली, सदस्यहरु कृष्णकुमारी पौडेल, विद्याकुमारी सिन्हा छन् । निर्वाचन आयोगको आयुक्तमा डा.जानकी कुमारी तुलाधर र राष्ट्रिय मानवअघिकार आयोगमा लिली हजुर बस्नेत नियुक्त भएका छन् ।

त्यस्तै दलित आयोगमा मीना देवी सोब, जनजाती आयोगमा रिना राना र मधेसी आयोगमा रेणुदेवी शाह नियुक्त भएका छन् । तर अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोग र राष्ट्रिय समावेशी आयोग, मुस्लिम आयोग र थारू आयोग मा भने कुनैपनि महिला पदाधिकारी परेका छैनन् ।