बैशाख २, २०८१ आईतबार

महिलाले बिवाह गर्न नमान्दा चीनमा बच्चा जन्मने दर ह्वात्तै घट्यो



बेइजिङ – जनसंख्याको हिसाबले विश्वकै सबैभन्दा ठुलो देश चीनमा १५ प्रतिशतले जन्मदर घटेको छ। महिलाले विवाह गर्न नमान्नु, महँगो शिक्षा र घरबारका कारण जन्मदरमा कमी आएको बताइएको छ।

सरकारी कार्यालयमा भएको जन्मदर्ताका आधारमा सन् २०१९ को तुलनामा सन् २०२० मा १५ प्रतिशतले जन्मदर कम भएको प्रारम्भिक तथ्यांक देखिएको चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले जनाएको छ। सन् २०२० मा चीनमा एक करोड ३५ हजार बालबालिकाको जन्मदर्ता भएको पाइएको छ। सन् २०१९ मा यो संख्या एक करोड १८ लाख रहेको जनाइएको छ।

एक सन्तान नीति तथा विवाह र परिवारबारे बदलिँदो धारणका कारण जन्मदर घटेको हुनसक्ने सरकारी निकायले आँकलन गरेका छन्। सन् १९४९ मा रिपब्लिक अफ चाइना स्थापना भएयताकै त्यो कम जन्म थियो।

जन्म दर्ता भएकामध्ये करिब ५३ प्रतिशत बालक रहेको र बालकको संख्या बालिकाको भन्दा पाँच लाख ४५ हजार बढी रहेको पनि त्यहाँको मन्त्रालयले जनाएको छ।

पछिल्लो तथ्यांकसँगै यसले चीनको अर्थतन्त्रमा गहिरो प्रभाव पार्न सक्ने अनुमान गरिएको छ। सन् २०५० सम्ममा चीनको कुल जनसंख्याको करिब एक तिहाई ६० वर्षभन्दा माथिका मानिसहरु हुने प्रक्षेपण विभिन्न अध्ययनहरुको छ।

चीनले सन् २०१६ मा एक सन्तान नीति हटाएपनि त्यहाँ परिवारहरुमा एकभन्दा बढी सन्तान जन्माउन रुची नदेखिएको बताइन्छ। सन् २०१७ मा चीन सरकारले गरेको एक अध्ययनले ५० प्रतिशतभन्दा बढी परिवार एकभन्दा बढी सन्तानको चाहनामा नरहेको देखाएको थियो। सन् २०१९ मा विवाह गर्ने दर चीनमा १४ वर्षयताकै कम देखिएको थियो।