चैत्र ६, २०८० मंगलबार

अपरिचितसँग भिडियो च्याटमा होस गर्नुस्, तपाईंकाे ‘पो.र्न भिडियो’ बन्नसक्छ



काठमाडौं । एउटा निजी फर्ममा काम गर्ने रोहितकुमार बस्याललाई म्यासेन्जरमा अपरिचित युवतीको म्यासेज रिक्वेस्ट आयो । ग्ल्यामरस तस्वीर देखेपछि उनले फ्याट्ट ‘कन्फर्म’ गरिहाले ।

‘रीतु’ नाम गरेकी ती युवतीको प्रोफाइल पिक्चरबाटै भारतीय हुन् भन्ने उनले अनुमान गरिसकेका थिए । म्यासेञ्जरमा केहीबेर कुरा गर्नासाथ युवतीले ह्वाट्स अप नम्बर मागिन् । धेरै नसोची रोहितले आफ्नो नम्बर दिए र उनीहरु ह्वाट्सएपमा जोडिए ।

ह्वाट्सअपको कुराकानीमा रीतु सीधै यौनजन्य विषयमा प्रवेश गरिहालिन् । अनि, आफ्ना अर्धनग्न तस्वीरहरु पनि पठाइन् । त्यतिमात्र होइन, भिडियो च्याटमा आफैं अर्धनग्न भएर देखापर्न थालिन् । त्यसपछि उनले रोहितलाई भनिन्, ‘तिमी पनि खोल न ।’ तर, रोहित तयार भएनन् । युवतीको चर्तिकला हेरेर मनोरञ्जन लिए पनि उनले आफ्नो लुगा फुकाल्न भने मानेनन् ।

त्यसपछि युवती भड्किइन् । अनि अनेकथरि धम्की दिन थालिन् । उनले एउटा च्याटको स्क्रिनसट पनि पठाइन्, जसमा उनले तीनै युवतीसँग गरेको कुराकानीमा उनको एकजना परिचित महिला साथीको तस्वीर राखेर फोटोसप गरिएको थियो । त्यसपछि रोहित आत्तिए । अनि हतारहतार युवतीलाई सबैतिर ब्लक गरे ।
रोहित अहिले भन्छन्, ‘धन्न म लुगा फुकाल्न नमानेर जोगिएछु । होइन भने मेरो नग्न भिडियो बनाएर उनले पैसाको ब्ल्याकमेलिङ गर्ने रहिछन् ।’

अहिले नेपाली कांग्रेसका एक जिल्ला नेताको ‘पोर्न भिडियो’ सार्वजनिक भएको चर्चाले सामाजिक सञ्जाल तातिरहेको छ । कतिले भिडियो खोजिरहेका छन् । भेट्नेहरुले म्यासेन्जरमार्फत अरुलाई पठाइरहेका छन् ।

यो भिडियो पनि माथि उल्लेख गरिएकोजस्तै पृष्ठभूमिमा बनाइएको हुनसक्छ । अहिले भारतमा एउटा गिरोह नै छ, जसले यस्तो धन्धा गरेर पैसा उठाइरहेको छ । आफ्नो नांगो भिडियो देखाएर पुरुषहरुलाई पनि नांगिन उत्प्रेरित गर्ने अनि त्यसकै भिडियो बनाएर पैसाको ब्ल्याकमेलिङ गर्ने उनीहरुको शैली हो । धेरै नेपाली पुरुषहरु पनि यस्तो अपराधको शिकार भइरहेका छन् । लुगा फुकाल्न नमान्नेहरु जसोतसो उम्किन्छन् । तर, कोही भावुक भएर आफू पनि नांगिन तयार भयो भने ठूलो मूल्य चुकाउनुपर्ने हुनसक्छ ।

केटाहरुले नै केटीको प्रोफाइल पिक्चर राख्ने र अरु कुनै युवतीको नग्न भिडियो प्ले गरेर युवाहरुलाई फसाउने गरेको पाइन्छ । कांग्रेसका जिल्ला नेता पनि यस्तै जालमा फसेको अनुमान छ । ती नेताले भारतीय व्यक्तिहरुले एनिमेटेड भिडियो बनाएर आफूलाई ब्ल्याकमेलिङ गरेको बताइरहेका छन् । उनले साइबर ब्यूरोमा उजुरीसमेत गरिसकेका छन् ।