बैशाख ८, २०८१ शनिबार

चाया पोतो किन आउँछ, कसरी गर्ने उपचार ?



शरीरमा आउने पोतोलाई हामी एक किसिमको छाला रोगको रूपमा लिन्छौं। यो एक किसिमको कस्मेटिक रोग हो। यसले बढी मानसिक तनाव गराउँछ। यो सबैभन्दा बढी मुखमा हुन्छ भने पुरूषको तुलनामा महिलालाई धेरै हुन्छ।

घाममा धेरै बस्दा अनि वंशानुगत कारणले पनि चाया पोतो हुन्छ। गर्भ निरोधक पिल्स, छारे रोगको औषधि खानेलाई पनि हुन्छ। कतिपय हर्मोनका कारणले पनि पोतो आउँछ। १० प्रतिशतलाई कुनै कारण नभइ यस्तो हुन्छ। चाया, पोतो धेरै मुखमै आउँछ। प्राय गरेर गालाको माथिल्लो भागमा, नाकमा, निधारमा अनि चिउडोमा आउँछ।

पोतोको रंग हेरेर यसको उपचार हुन्छ। यसको प्राथमिक उपचार भनेको घामबाट बच्नु हो। चिल्लो छाला छ भने जेल, लोसन र सुख्खा छाला छ भने क्रिमहरु लगाउन सकिन्छ। त्यसका लागि परामर्श लिनुपर्छ।

भिटामीन सि, भिटामीन ए खान सकिन्छ। गाजर, पाकेको फर्सी, अमला र अमिलो खानाहरु खान सकिन्छ। जसले छालालाई घामबाट बिगार्न जोगाउँछ।

अरू मलम पनि पाइन्छ। कतिपय खाने औषधिनै हुन्छ। यति मात्रै नभएर विभिन्न सर्जिकल उपचार पनि चलेको छ। कतिपय खर्चिलो उपचार पनि हुन्छ। आफ्नो चाया पोतोलाई आफैं उपचार नगरौं। यसको लागि स्कीनको डाक्टरसँगै परामर्श लिनुपर्छ। उहाँहरूसँग परामर्श लिएर मात्रै उपचार गरौं। औषधि ठीक मात्रामा भएन भने त्यसले दिर्घकालिन समस्या निम्त्याउँछ।

यसलाई लापरबाही गरेमा भित्री रोग त निम्त्याउँदैन तर आत्मबल कमजोर बनाउँछ। गलत उपचार र मल्हमको प्रयोगले दिर्घकालीन समस्या निम्त्याउँछ।

केएमसी शिक्षण अस्पताल एवम् लभाना स्कीन एण्ड हेयर क्लिनिक महाराजन्मा कार्यरत छालारोग विशेषज्ञ प्रा.डा सविना भट्टराईसँग हामीले यस विषयमा भिडिओ कुराकानी गरेका छौं।