जेष्ठ ५, २०८१ शनिबार

नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावास



उदयपुर । जिल्ला अदालत उदयपुरले आफ्नै आठ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ ।

बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावास सहित रु ४० हजार दण्ड जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताए । यस्तै कसुरदार पुरुषले पीडित राहतकोषमा रु चार हजार जम्मा गर्नुपर्नेसहितको फैसला अदालतले गरेको जिल्ला अदालत उदपुरले बताएको छ ।

गत भदौ ९ गते आफ्नै नातिनीलाई बलात्कार गरेको कसुरमा हजुरबुबा विरुद्ध प्रहरीमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयले ती पुरुषलाई पक्राउ गरेर अनुसन्धान गरी अदालतको आदेशानुसार अदालतमा मुद्दा दर्तासँगै पूर्पक्षका लागि थुनामा राख्दै आएको थियो ।

७८ वर्षीया वृद्धा बलात्कार गर्नेलाई साढे ३ वर्ष कैद

गलकोट । अठहत्तर वर्षीया एक वृद्धालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत बागलुङले जिल्लाको गलकोट नगरपालिका–१ का २६ वर्षीय बुलबहादुर विकलाई तीन वर्ष छ महिना कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालत बागलुङका न्यायाधीश वासुदेव न्यौपानेको मङ्गलबारको एकल इजलासले कसुर ठहर गर्दै जबरजस्ती करणी उद्योग कसुरमा आरोपितलाई तीन वर्ष छ महिना कैदसहित पीडितलाई रु २५ हजार क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले बताए।

पीडित वृद्धालाई आरोपित विकले २०७६ भदौ २ गते बलात्कार गर्ने प्रयास गरेको भन्दै पीडित पक्षले भदौ ४ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।

त्यसलगत्तै प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेको थियो । प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत २०७६ भदौ २६ गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणी उद्योग अभियोगमा मुद्दा दर्ता गरेको थियो ।