जेष्ठ ५, २०८१ शनिबार

सय वर्ष पुगेपछि बल्ल परिचयपत्र



तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका एक महिलाले १०० वर्ष पुगेपछि बल्ल ज्येष्ठ नागरिक परिचयपत्र पाएकी छन् । आँबुखैरेनी वडा नं. १ सत्रसयकी मनकुमारी लामिछानेले आइतबार १०० वर्षमा बल्ला परिचयपत्र पाएकी हुन् ।

आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको ज्येष्ठ नागरिक परिचयपत्र वितरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले लामिछानेलाई परिचयपत्र प्रदान गरिन् । विसं १९७६ पुस ५ गते जन्मिएकी लामिछानेले पहिलो पटक ज्येष्ठ नागरिक परिचयपत्र पाउँदा खुशी लागेको बताइन् ।

‘एक सय वर्ष पुगेपछि बल्ल परिचयपत्र पाएँ, अब पाउनुपर्ने अन्य सुविधा पनि पाउने आशा जाग्यो’, लामिछानेले भनिन् । गाउँपालिकाले वडा वडाबाटै परिचयपत्र वितरण गरिदिँदा आफूहरूलाई सहज भएको उनले बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले सबै वडा कार्यालयबाट ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिने जानकारी दिँदै परिचयपत्र वितरणपछि ज्येष्ठ नागरिकले ज्येष्ठ नागरिक ऐन बमोजिमका छुट तथा सुविधा प्राप्त गर्ने बताए ।

पोख्रेलका अनुसार गाउँपालिकाका ६ वटै वडामा करिब एक हजार ४०० बढी ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिनेछ । परिचयपत्र वितरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष श्रेष्ठले ज्येष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्ने बताइन् । चैत ९ गते आँबुखैरेनी गाउँपालिका–२ र ३ को वडा कार्यालयबाट परिचयपत्र वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलले जानकारी दिए । वडा नं ४, ५ र ६ मा भने परिचयपत्र वितरणका लागि पछि मिति तोकिनेछ ।