जेष्ठ १, २०८१ मंगलबार

कोभिडले बढायो नेपालीमा मनोवैज्ञानिक समस्या, समाधानका लागि मनोविमर्श तालिम चल्दै 



कोभिड–१९ ले नेपालीहरुमा मनोवैज्ञानिक असर बढन थालेको मनोविद्ले बताएका छन् । कोभिडका कारण  रोजगारी अभाव, आर्थिक समस्या, घरेलु हिंसाका कारण मानिसमा डिप्रेसन (अवसाद), चिन्ता, तनावलगायत मनोवैज्ञानिक असर बढ्न थालेको उनीहरूको भनाई छ ।

काठमाडौँमा द स्कूल अफ साइकोलोजी नेपालद्वारा सञ्चालित छ महिने मनोविमर्श तालिमको समापन कार्यक्रममा मनोविद् डा. नरेन्द्रसिंह ठगुन्नाले यसको बेलैमा समाधान नखोजिने हो भने नेपालमा ठूलो समस्या उत्पन्न हुने बताए । ‘अब मानसिक स्वास्थ्य समस्या समाधानका लागि मनोविमर्श सेवा नै जरुरी छ’, डा. ठगुन्नाले भने, ‘सरकारी र गैरसरकारी क्षेत्रबाट पनि सशक्त अभियान नै चाल्नु जरुरी छ ।’

उक्त संस्थाले छ महिने मनोविमर्श तालिम सञ्चालन गरिरहेकाे छ । तालिमकाे १०औँ११औँ समूहमा सहभागी १४ प्रशिक्षार्थी दीक्षित भएसँगै उनीहरुलाई प्रमाणपत्रसमेत वितरण गरिएको छ ।

संस्थाका संस्थापक अध्यक्ष पदमराज जोशीले दीक्षित प्रशिक्षार्थीले मानसिक स्वास्थ्य जोखिममा रहेका समुदायलाई मनोविमर्श सेवा प्रदान गर्न सक्ने र आवश्यक परेमा मनोविद् वा मनोचिकित्सककहाँ पठाउन सक्ने योग्यता प्राप्त गर्नेछन् ।

कम विकसित मुलुकमा विज्ञको अभाव हुँदा यसरी तामिल प्रदान गरेर मनोपरामर्शदाता सेवा दिने गरिएको छ । सोहीअनुसार नेपालमा पनि छ महिने तालिम दिएर मनोपरामर्शदाता उत्पादन गरिँदै आइएको छ ।

भक्तपुर बहुमुखी क्याम्पसमा प्राध्यापन गराउँदै आएकी प्रशिक्षार्थी सिर्जना श्रेष्ठले सामान्य स्वास्थ्य समस्या हुँदा मानिस औषधि लिन मेडिकल जाने गरेको तथ्य प्रस्तुत गर्दै सही मनोविमर्श सेवा प्राप्त भयो भने धेरै रोग त्यसै निको भएर जाने रहेछ भन्ने कुरा आफूले सिकेको बताइन् ।

तालिममा स्टाफ नर्स, प्राध्यापन पेशामा सहभागी शिक्षक, मनोविज्ञान र व्यवस्थापन क्षेत्रमा काम गर्दै आएका व्यक्तिको आकर्षण बढिरहेको तालिम संयोजक जोत्स्ना डाँगीले बताइन् । उनका अनुसार संस्थाले हालसम्म १५० भन्दा बढीलाई उक्त तामिल प्रदान गरेकामा उनीहरूमध्ये ८० प्रतिशत प्रशिक्षार्थी रोजगारीमा संलग्न भएका छन् । हाल १२औँ१३औँ समूहको तालिम चलिरहेको र निकट भविष्यमा १४ औँ समूहको प्रशिक्षण सुरु हुने जनाइएको छ ।