मंसिर २३, २०८१ आईतबार

१७० वर्षमा पहिलो पटक महिला प्रधानसम्पादक



काठमाडौं ।  विश्वप्रशिद्ध समाचार संस्था रोयटर्सको नयाँ प्रधान सम्पादक अलेसान्द्रा गलोनी बन्ने भएकी छन्। बेलायतको लण्डन मुख्यालय रहेकाे समाचार संस्था रोयटर्सले आफ्ना शीर्ष सम्पादक मध्येबाट अलेसान्द्रालाई भावी प्रधान सम्पादकका रुपमा चयन गरेको हो।

विश्वव्यापी रुपमा सेवा प्रदान गर्दै आएको समाचार संस्था राेयटर्सको १७० वर्षको इतिहासमा प्रधान सम्पादक बन्ने अलेसान्द्रा पहिलो महिला हुन्।

इटालीको रोमकी ४७ वर्षीया गलोनीले स्टीफन जे एड्लरको स्थान लिने छिन्। एड्लरले यहि महिना (अप्रिल) अवकाश लिँदै छन्।

उनले एक दशकदेखि रोयटर्सको प्रधान सम्पादकको भूमिका निर्वाह गर्दै आएका छन्। उनको नेतृत्वमा रोयटर्सले सात पुलित्जर पुरस्कारसहित पत्रकारिता क्षेत्रका सयौँ पुरस्कार प्राप्त गर्न सफल भएको छ।

चार भाषामा पोख्त गलोनीले पत्रकारका रुपमा व्यवसाय र राजनीतिक बिटमा रिपोर्टिङ्ग गरेकी हुन्। रोयटर्स अघि उनले द वाल स्ट्रिट जर्नलमा काम गरेकी थिइन्।

विश्वभर गरेर रोयटर्समा २४ सय ५० पत्रकार आवद्ध छन्। उनीहरु सबैको नेतृत्व गलोनीले गर्ने छिन्।