बैशाख १३, २०८१ बिहीबार

प्रधानमन्त्रीले कुलमानलाई नियुक्ति गर्ने निर्देशन दिनुभएको छैन : उर्जामन्त्री भुसाल



काठमाडौं – ऊर्जामन्त्री पम्फा भुसालले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको प्रमुखमा नियुक्त गर्न प्रधानमन्त्रीले कुनै निर्देश नदिएको बताएकी छन् ।
कुलमानलाई प्राधिकरणको प्रमुख नियुक्त गर्न प्रधानमन्त्री देउवाको निर्देशन भन्ने समाचार सार्वजनिक भएपछि उर्जामन्त्री भुसालले आफूलाई प्रधानमन्त्रीले त्यस्तो कुनै निर्देशन नदिएको स्पष्ट पारेकी हुन् ।

‘प्रधानमन्त्रीले वर्तमान प्रमुखको कार्यसम्पादनबारे चासो लिँदै केही असन्तुष्टि व्यक्त गर्नुभएको हो । कुलमानलाई नियुक्तिको तयारी गर्नेबारे कुनै निर्देशन दिनुभएको छैन’, उर्जामन्त्री भुसालको भनाई उधृत गर्दै शिलापत्रले लेखेको छ ।

शाक्य आइसकेपछि विद्युतको बक्यौता रकम उठाउन पहल नगरेको, चुहावट नियन्त्रणमा प्रभावकारी नभएको र विद्युत कटौती बढेको गुनासो बढेपछि प्रधानमन्त्री देउवाले यसबारे चासो भने व्यक्त गरेको ऊर्जामन्त्री भुसालले बताइन् ।

कसरी सार्वजनिक भयो समाचार ?

प्रधानमन्त्री देउवाले निर्देशन दिएको विषय शुरुमा मंगलबार दिउँसो साढे ४ बजे पीएम प्रेसरूमको फेसबुक ग्रुपमा सार्वजनिक भएको हो । ग्रुपमा प्रधानमन्त्री देउवाको प्रेस संयोजन गरिरहेका पत्रकार गोविन्द परियारले उक्त विषय लेखका हुन् । उनले लेखेका थिए, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न आज ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाललाई निर्देशन दिनुभएको छ ।’

उनकै सूचनाका आधारमा विभिन्न मिडियामा कुलमानको नियुक्तिको विषयमा समाचार सम्प्रेषण भएको थियो ।

अघिल्लोपटक देउवा प्रधानमन्त्री हुँदा सञ्चार विज्ञको जिम्मेवारी पाएका पत्रकार गोविन्द परियारले अहिले प्रेस संयोजनको काम गरिरहेका छन् । तर प्रधानमन्त्रीले औपचारिक रूपमा सचिवालय गठन गरिनसकेकोले परियारले औपचारिक रूपमा नियुक्ति भने नपाएको जनाइएको छ । प्रधानमन्त्री देउवाले यसअघि गरेका कामबारे इन्फोग्राफिक्स र भिडियो सन्देशको पनि परियारकै संयोजनमा तयार भइरहेको छ ।