चैत्र १५, २०८० बिहीबार

काँग्रेस सभापति निर्वाचित भईन् १९ वर्षीया किशोरी



नेपाली काँग्रेसमा धेरै पाका नेता भएको कारण नेतृत्वमा युवाले निकै कम मात्र अवसर पाउने भनेर आलोचना हुन्छ । तर हालैमात्र एक १९ वर्षकी किशोरीलाई वडा सभापति निर्वाचित गरेको छ । दैलेखको दुल्लु नगरपालिका –३ पालिकी १९ वर्षीया किशोरी स्वस्तिका महत नेपाली काँग्रेसको वडा सभापतिमा निर्वाचित भएकी हुन् । महतलाई निर्वाचित गरेसँगै काँग्रेसले युवा नेतृत्वलाई पनि अवसर दिन थालेको देखाएको छ ।

वडा तहका अधिकांश नेतृत्वमा ४० नाघेकाहरू वर्चश्व भइरहेका बेला स्वस्तिका निर्वाचित हुँदा निकै प्रशंशा भइरहेको छ । काँग्रेसको १४ महाधिवेशनका लागि देशभर वडा अधिवेशन चलिरहेको छ । सोही अभियान अन्तर्गत शुक्रबार स्वस्तिकाको नेतृत्वमा कार्यसमिति घोषणा गरिएको हो । उनी दैलेखका स्वर्गीय नेता भुपेन्द्रजङ्ग महतकी छोरी हुन् ।
स्वस्तिका सभापति बनेसँगै सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ ।
२०५८ सालमा जन्मिएकी स्वस्तिका बुबाको राजनीति र उनको बाटोमा रहेर राजनीतिमा आएको बताउँछिन् । एसईई सम्मको अध्ययन गरेकी उनले आफू निर्वाचित भएपछि पार्टीकै ठुलो तहका नेताहरुको फोन र सामाजिक सञ्जालमा आएको बधाईले निकै खुसी लागेको बताईन् ।
सुरुमा धेरै जना सभापतिको उम्मेद्वार रहेको भएपनि आफू उम्मेद्वार भएपछि सबैले सहमतिमा सभापति चयन गरेको बताईन् ।
आफू बुबाको राजनीतिबाट प्रभावित बनेको बताउने उनले बुबाको निधनपछि २०७६ देखि राजनीतिमा लाग्ने ईच्छा जागेको बताईन् ।
मेरो बुबा पहिला राजनीति गर्नुहुन्थ्यो । दैलेख जिल्लाको पार्टी उपसभापति हुनुहुन्थ्यो । तर, बुबाको निधन भयो । बाबाको सपना पुरा गर्नु थियो । बुबा समाज रुपान्तरणका लागि र समाज सुधारको लागि केही काम गर्छु भनेर अगाडि बढ्नुभएको थियो । त्यो पुरा नुहुँदै उहाँको स्वर्गबास भयो । त्यसकारण बुबाको सपना पुरा गर्नका लागि म राजनीतिमा आउन खोजेको हो ।