बैशाख २, २०८१ आईतबार

१२ जिल्लाका सीडीओको काज सरुवा



गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) काज सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीहरुको काज सरुवा गरेका हुन् ।

मन्त्रालयको निर्णयअनुसार ललितपुरका सीडीओ डुण्डी प्रसाद निरौला पनि गृह मन्त्रालयमा र उनको ठाउँमा सहसचिव घनश्याम उपाध्यायलाई पठाइएको छ ।

यस्तै गुल्मीकी सीडीओ रुद्रादेवी शर्माको जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सरुवा भएको छ भने गुल्मीमा पुण्य विक्रम पौडेलको सरुवा भएको छ ।

यसैगरी काशीराज दाहाल मोरङमा सरुवा भएका छन् भने यसअघि सीडीओ रहेका कोषहरि निरौलालाई गृह मन्त्रालयमा तानिएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ चितवन सरुवा भएका छन्, रुपन्देहीमा गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारी पठाइएका छन् ।

गोरखामा शंकरहरि आचार्य, रामेछापमा दीपककुमार पहाडी र संखुवासभामा नुरहरि खतिवडा सीडीओ बनेका छन् । संखुवासभाका सीडीओ टेकनारायण पौडेल गृह मन्त्रालयमा सरुवा भएका छन् ।

दोलखामा टेकराज निरौला सीडीओ बनेका छन् भने त्यहाँबाट बासुदेव घिमिरे मन्त्रालयमा सरुवा भएका छन् । त्यस्तै धादिङमा कृष्णप्रसाद लम्साल र उदयपुरमा वीरेन्द्रप्रसाद यादव सीडीओ बनेका छन् ।