बैशाख १५, २०८१ शनिबार

खाद्यान्नको मूल्य अचाक्ली बढ्यो तर अनुगमन शून्य



गुल्मी – गुल्मीको सदरमुकाम तम्घासमा तरकारीका साथसाथै खाद्यान्नको मूल्य पनि अचाक्ली बढेको छ । बिना कुनै कारण तरकारी र खाद्यान्नमा भाउ बढेपछि सर्वसाधारण मर्कामा परेका छन् ।

श्रीमान्सँग सदरमुकाम तम्घास बस्ने गुल्मीको मुसिकोटकी लक्ष्मी सुनारले महँगीका कारण चाहिनेभन्दा आधामात्रै खाद्यान्न किन्नुपर्ने बाध्यता आइपरेको बताइन् । आठ महिनाकी गर्भवती उनले ज्याला मजदुरी गर्नेहरूले बजारबाट किनेर खान नसक्ने अवस्था आएको सुनाइन् । लक्ष्मीका श्रीमान् सदरमुकाम तम्घासमै मजदुरी गर्छन् । ‘पल्लेदारीको काम हो । कहिले त हप्तौं खालि बस्नु पर्छ,’ उनले भनिन्, ‘खान परिहाल्यो, भोकै मर्न सकिँदैन तर किनेर खान सक्ने अवस्था पनि छैन ।’

रेसुंगा नगरपालिका–२ की स्थायी बासिन्दा अमृता खत्रीले पनि सबै सामान महँगो भएका कारण घरखर्च चलाउन समस्या भइरहेको बताइन् । उनले पछिल्लो समयमा तरकारी, खाना पकाउने ग्यास र खाद्यान्नको मूल्य चर्को रूपमा बढेको बताइन् । ‘किनेर खाने ठाउँमा त सबै सामानको भाउ छोइसक्नु छैन, खुर्सानी, टमाटर ४० रुपैयाँबाट बढेर ७०/८० पुग्यो,’ उनले भनिन्, ‘२०/३० रुपैयाँमा पाइने सिमी, बोडी पनि प्रतिकिलो २ सय रुपैयाँ नाघेको छ ।’ कोरोनाका कारण आम्दानी छैन ।

एक जनाले विदेशमा कमाएर ५/६ जना पाल्नेहरूलाई भाउ बढेर ठूलो समस्या छ । ‘कमाउन विदेश गएकालाई पनि पहिलाभन्दा आधामात्र तलब दिएको छ, यहाँ भाउ बढेर यस्तो छ,’ खत्रीले भनिन् ।महँगीले विशेष गरी ज्याला मजदुरी गर्ने, बच्चाबच्ची पढाउनका लागि सदरमुकाममा बस्नेहरू, विद्यार्थी र न्यून आय हुनेहरू बढी मर्कामा परेका छन् । कोभिडका कारण आम्दानी घटेको समयमा महँगी बढ्दा सदरमुकाम बस्ने कि गाउँ फर्किने दोधारमा पुगेको उनीहरूको गुनासो छ ।

महँगीले ज्यान पाल्नै मुस्किल भएको मालिका गाउँपालिका, नेटाकी सावित्रा विश्वकर्माले गुनासो गरिन् । विदेशमा रहेका श्रीमान्ले कोरोना लागेर काम गर्न नपाएको र तलब पनि आधा घटेको अवस्थामा आफूहरूलाई सदरमुकाममा बस्नै सास्ती भएको उनको गुनासो छ । ‘यहाँ हामी तीन आमाछोरीलाई पहिला मासिक १५ हजारमा खर्च चल्थ्यो, अहिले ३० हजारले पुग्दैन,’ उनले भनिन्, ‘यहाँ मैले केही रोजगारी गरौं भने पनि काम पाइँदैन । रुनु न हाँस्नु भइएको छ ।’

चाडपर्व नजिकिएको बेला दिदीबहिनीलाई बोलाएर खुवाउन समेत महंगीले समस्या पारेको माया विश्वकर्मा बताउँछिन् । ‘हामी जस्तो सामान्य परिवारले त साँझ, विहान के खाने भन्ने अवस्थामा पुगेका छौ“,’ उनको गुनासो छ, ‘दिदी बहिनीलाई त कसरी बोलाएर खुवाउनु ? चाडपर्व आउँछ, सबै म्यानेज गर्न पर्छ, आफ्नो पेशा व्यवसाय केही छैन, हामी जस्ता मान्छेलाई गाह्रा हुदोरहेछ ।’

गुल्मी उद्योग वाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले मूल्यवृद्धि चर्को रूपमा बढेको स्वीकार गरे । ‘नियामक निकाय नहुँदा मूल्यवृद्धि भएको हो,’ उनले भने, ‘गुल्मीमा आउने खाद्यान्न र तरकारी सबै बुटवलबाट आउने हो । त्यहींबाटै महँगो भएर आएकाले यहाँ पनि महँगो पर्न गएको हो ।’

बजार अनुगमन गर्दा त्यस्तो मूल्यबृद्धि भएको नभेटिने र उपभोक्ताले उजुरी पनि नगरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा बताउँछिन् । ‘हामीले अनुगमन गर्दा उद्योग वाणिज्य संघले प्रचलित मूल्यको दररेको मूल्यसुची नराखेको पाइए हामीले कारबाही गर्छौ’, उनले भनिन्, ‘बाहिर हामीले पनि मूल्य बढेको सुन्छौ“ तर न अनुगमन गर्दा त्यस्तो भेटिन्छ ।’
उनले कुनै उजुरीको आधारमा कारबाही गर्ने प्रचलन भएपनि कसैले उजुरी नगरेको बताइन् ।

‘उजुरीको आधारमा हामीले कारबाही गर्ने भएकोले उजुरी गरेको खण्डमा हामीले तत्काल एक्सनमा जान्छौ“,’ उनले भनिन्, ‘तर कसैले उजुरी गर्नुभएको छैन ।’ उनले उपभोक्ताहरु पनि सचेत हुनुपर्ने र मूल्यसुची हेरेर मात्रै सामान खरिद गर्नुपर्ने बताइन् ।