बैशाख ८, २०८१ शनिबार

राणाकालिन दरबारको खाना पकाउन सिकाउने पुस्तक सार्वजनिक



काठमाडौं । ३५ वर्ष अगाडि जर्नेल गौरवशमशेर जबरा कर्नेल भई हेटौँडाको सुपारीटारमा पोस्टिङमा थिए। श्रीमानसँगै साथ लागेर गएकी थिइन्, रोहिणी राणा। राणाका दुई सन्तान होस्टलमा पढ्थे। श्रीमान दिनभर काममा व्यस्त रहँदा उनी भने खालि हुन्थिन्।

केही काम नहुँदा उनलाई पकाउन रहर लाग्थ्यो। ‘केही गर्ने काम नभएपछि म मेरो प्यासनको काम गर्थे। त्यहाँ दाउराको चुलो हुन्थ्यो, म त्यही पकाउथेँ,’ उनले सम्झिइन्, ‘पकाउँदा पकाउँदै राणा कुजिनमा मलाई एउटा पुस्तक नै लेखौँ कि जस्तो लाग्यो।’ किनकि उनले राणा परिवारको विशेष पाकवान लोप हुन लागेको महशुस गरिन्। जसले राणाको परिवारको भान्छा सम्हाल्थ्यो, उनीहरु वृद्ध भएका थिए र उनीहरुमा भएको सीपको पुस्ता हस्तान्तरण भएको रोहिणीले देखेकी थिइनन्।

‘त्यसलाई डकुमेन्ट गरेन भने त्यो हराउँछ जस्तो लाग्यो र मैले यसको परिचयात्मक डकुमेन्ट सुपारीटारमा नै बसेर लेखेँ,’ रोहिणीले दुई दिन निरन्तर लागिपरेर राणा परिवारको भान्छामा कसरी खाना पाक्थ्यो भनेर पृष्ठभूमि लेखिन्।

खानेकुराको आइटमहरु लेखिन्। राणा परिवारको पाक सीपलाई पुस्तकमा उतार्ने कामलाई अगाडि बढाइरहेकी उनले केही समय यो कामलाई रोक्नुपर्‍यो।

‘सन्तान हुर्किए, पढाइ, उनीहरुको जागिर, विवाह भयो। श्रीमानको पनि पदोन्नति भयो, पोस्टिङ कहिले कहाँ कहिले कहाँ भइरह्यो। पछि उहाँ प्रमुख हुनुभयो अनि मलाई फुर्सद भएन,’ रोहिणीले भनिन्, ‘उहाँ रिटायर्ड भएपछिमात्र मैले यो गर्नै पर्छ भनेर फेरि सुरु गरेँ।’ गौरवलाई स्याहार गर्ने दिदी रोहिणीको लागि यो पुस्तक लेखनको सारथी बनिन्।

रोहिणीले पहिला संकलन गरेको खानाको परिकार बनाउने तरिका सिक्न र त्यसलाई लेख्न दिदीले परिकार पकाउँदा अड्कलेको हात समातिन्। कुन खानामा कति मसला हाल्छन् भनेर बुझ्न उनले अनेक आइडिया लगाउनुपर्‍यो, किनकि पकाउन जान्नेहरुले आफैँ अड्कल गरेर हाल्छन्।

१०४ वर्ष लामो शासन गरेको राणाका ९ दाजुभाइको भिन्नभिन्न घरका भान्छामा पाक्ने फरक परिकारहरु प्रख्यात रहेको रोहिणीले बताइन्। ‘९ राणा दाजुभाइमध्ये ८ जनाको सन्तान छन्, उहाँहरुलाई सम्पर्क गरेर मैले खानेकुरा पकाउन सिकेँ र त्यसलाई शब्दमा उतारेँ,’ उनले भनिन्, ‘कसैकोमा बँदेल फेमस, कसैकोमा मिक्स तरकारी अनि कसैकोमा आलु। जंगबहादुर देखि मोहन शमशेरसम्मको रेसिपी छन्।’ उनले लेखेको पुस्तक मंगलबार सार्वजनिक भयो।

‘द राणा कुकबुक’ नामको यो पुस्तकले नेपालको राणाकालीन दरबारको खानाको परिकारलाई सार्वजनिक गरेको छ । पुस्तकमा १४० ओटा परिकारहरुलाई समेटिएको छ। परिकारलाई उनी आफैँले प्रयोग सहित डकुमेन्टेशन गरेकी छन्। उनले बताएअनुसार केही परिकारहरुमा ‘फ्यूजन’ छ। राणा परिवारको खाना धेरै भारतीय खानासँग प्रभावित छ। रोहिणीको अनुभवमा नेपाली भनिने खानामा भन्दा राणा परिवारको खाना धेरै मसालेदार, भुटेको, चिल्लो हुन्छ। उनले लेखेको पुस्तकले नेपाली खानाको संस्कारलाई विकास गर्न मद्दत गर्नेमा उनी ढुक्क छिन्।

‘सन्तोष साहले विश्वमा नै नेपालको नाम बनाए। अहिले फुड भ्लगरहरु पनि छन्। मेरो पुस्तक पनि विश्वको धेरै ओटा देशमा पुग्दैछ। पकाउन इच्छा हुनेहरुको लागि राम्रो हुन्छ होला,’ उनले भनिन्।

रोहिणीले गएको वर्ष मार्चमा नै पुस्तक प्रकाशनको मिति तोकेकी थिइन् तर कोरोना भाइरस माहामारीले उनको योजनालाई रोकिदियो। पेन्गुइन पब्लिकेशनले प्रकाशन गरेको यो पुस्तकलाई जुलाईबाट पब्लिकेशन भएको देशहरुमा विक्री गर्ने उनको योजना छ। पुस्तकलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका शिर्ष नेता पशुपति शमशेर जबराले सार्वजनिक गरेका थिए । कार्यक्रममा सेनापति पूर्णचन्द्र थापा लगायतको उपस्थिती थियो।