>

माघ ११, २०७८ मंगलबार

सुध्रिदैंछन् महिलाले हाँकेका विद्यालय



बाँके – धेरै विद्यालयमा विद्यालयको सरसफाई अहिलेपनि विद्यार्थीलाई गर्न लगाउने चलन छ । तर कोहलपुर नगरपालिकास्थित जन ज्ञानज्योति माध्यमिक विद्यालयकी प्रधानाध्यापक सुमित्रा न्यौपाने आफै अघि सर्छिन् ।
कामका लागि पहिला आफै अघि सर्नुपर्छ भन्ने मान्यता राख्ने सुमित्रालाई साथ दिन अरु शिक्षक र विद्यार्थीहरु समेतको सहयोग हुन्छ । त्यसैले स्कुल परिसर चिरिच्याट्ट छ ।

तीन महिनाअघि मात्रै सुमित्राले प्रधानाध्यापकको औपचारिक जिम्मेवारी पाएपछि विद्यालयको मुहार फेरीएको छ । उनी आउनुअघि लथालिंग विद्यालय व्यवस्थीत भएको छ । बेहाल रहेको शौचालयदेखि खानेपानीको व्यवस्थापन राम्रो छ । गरिब, दलित, बेसहारा आधा विद्यार्थीले सहारा पाएर पढाइमा दत्तचित्त भएर लागेका छन् ।
बेन्च, डेस्क, चक र बोर्ड पनि राम्रो व्यवस्था नभएको विद्यालयमा सुधार छ । उनी आएर ससाना कुरालाई सुधार्न सकेसम्म आफैंलाई अघि सारिन्, जसमा सबैको साथ पनि मिल्न थाल्यो । घरदेखि विद्यालयसम्म बालबालिकाको हेरचाह गर्ने सुमित्राको शैलीले केही सुधार आयो ।

उनी २०६२ सालदेखि शिक्षण पेसामा आवद्ध भएपनि अहिले प्रधानाध्यापकको जिम्मेवारी पाएपछि विद्यालय सुधारेकी छन् ।

विद्यालयका २२ जना शिक्षक मध्ये ५ जनामात्र पुरुष रहेको यो विद्यालयमा मातृत्व मैत्री वातावरण छ । पढाउने र नैतिक शिक्षा सिकाउने तरिकै बेग्लै छ । ‘घरका छोराछोरी र स्कुलका छोराछोरी उस्तै लाग्छ,’ सुमित्रा भन्छिन् ।

सुमित्रालाई निम्न आर्थिक अवस्थाका बालबालिकालाई पढाउन विद्यालयलाई सुविधासम्पन्न बनाउने मन छ । अनलाइन कक्षा र स्मार्ट शिक्षा प्रणाली लागू गराउने उनको योजना हो । विद्यालय आफैं गरिब हुँदाहुँदै उनी हिम्मत जुटाएर सहयोगको हात फैलाइरहेकी छन् । ‘कसैले सहयोग गर्छ कि भनेर बाटो हेरिरहेकी छु,’ उनले भनिन्, ‘कहीं न कहीं त दाता भेटिएलान् नि १’

नेपालगन्ज उपमहानगरपालिकास्थित घरबारी टोलको राष्ट्रिय माध्यमिक विद्यालय पनि महिलाले नै धानेका छन् । प्रधानाध्यापक ललिता उपाध्यायले पूरै जीवन शिक्षामा समर्पण गरेकी छन् । उनको नेतृत्वमा ११ शिक्षक छन्, नौ जना त महिला नै । ललिताको घरबारी टोल विद्यालयसँग इतिहास जोडिएको छ । २०२० सालमा स्थापना भएको पुरानो विद्यालयमा उनी पहिलो महिला प्रधानाध्यापक हुन् । २०५७ देखि शिक्षा पेसा अँगालेकी उनले महिला भएकै कारण विद्यालयमा समयमै पदभार ग्रहण गर्न नपाएको सम्झिइन् । विद्यालय व्यवस्थापनले महिला प्रधानाध्यापकप्रति छिट्टै विश्वास नगरेको तीतो अनुभव सुनाइन् ।

उनका अनुसार, जब उनी विद्यालयमा सरुवा भइन्, त्यतिबेला तुरुन्तै उनलाई कुर्सीमा बस्न दिइएन । विद्यालय व्यवस्थापनले महिलाको नेतृत्वमाथि अविश्वास गर्‍यो । तत्कालीन जिल्ला विकास समितिका सभापति ओमजंग राणाले विद्यालय र अभिभावकमाझ केही समय कामको निगरानी गरेर असफल भए आफैंले अरू ठाउँ सरुवा गरिदिने वचन दिएपछि मात्रै ललितालाई प्रधानाध्यापकको रूपमा हाजिर गराइएको थियो ।

ललिता विद्यालय पस्दा शौचालय र पानी थिएन, विद्यालय भवन जीर्ण चुहिने थियो । पानी पर्दा विद्यालय बन्दै गर्नुपर्थ्यो । १० वटा फलामे बेन्चबाहेक केही थिएन । सुरुमा घरबाट दरी बोकेर विद्यालयमा केटाकेटी राखेर पढाएका दिन उनले सम्झिइन् । राणासँग विद्यार्थीलाई डेस्क–बेन्चको बजेट माग्दा पैसा नभएर बोरा पाएको उनले सुनाइन् । दुई सय बोरा आफैंले बोकेर विद्यालयसम्म पुर्‍याएको संघर्ष उनको मनमा अझै ताजै छ ।

महिलालाई जहाँतहीँ नेतृत्व गर्न सजिलो नभएको ललिताको अनुभव छ । शिक्षा क्षेत्रमा अझै जटिल छ । यद्यपि विद्यालय चलाउन ललितालाई अभिभावक र व्यवस्थापन समितिको मन जित्नु थियो । उनी शालीन भएर सबैसँग बैठक गरिन् । विश्वास दिलाइन् र क्रमिक रूपमा विद्यालयको सुधारमा अघि बढिन् । ५ कक्षासम्म सञ्चालित स्कुललाई कक्षा ८ सम्म पुर्‍याउन उनले निरन्तर योगदान दिएकी छन् । ‘अहिले हामी तत्कालै प्राविधिकको प्रस्तावित मावि तह थप्ने प्रयास गरिरहेका छौं,’ उनले भनिन्, ‘विद्यालय परिसर साँघुरो भएकाले छुट्टै जग्गासमेत पाएका छौं ।’ एक कट्ठा पनि जमिन नभएको विद्यालयले उनकै पहलमा ६ कट्ठा प्राप्त गरेको छ । ६ महिनापछि शैक्षिक अवकाश पाउँदै गरेकी उनलाई पढाउने रहर अझै मरेको छैन । विद्यालयप्रति देखेका अपूरा सपना पूरा गर्न उनी अवकाशपछि पनि काम गरिरहने मनसायमा छिन् । ‘विद्यालय र घर, विद्यार्थी र छोराछोरीमा उस्तै जिम्मेवारी बोध गर्छु,’ उनले भनिन् ।

बाँकेको सुदूरपश्चिम मानिने नरैनापुर गाउँपालिकामा पनि महिला नेतृत्वमा विद्यालय चलिरहेको छ । पालिकाको मटैया–५ मा पर्ने महेन्द्र माविमा कैलालीकी तुलसा शाह प्रधानाध्यापक छिन् । भारतको पुनाबाट उच्च शिक्षा हासिल गरेर स्वदेशमै शैक्षिक सेवा दिने हेतुले उनी नेपाल फर्किएकी थिइन् । घरको काम भ्याएर रातभरि विद्यालयको पढाइका लागि तयारी गर्नुपर्ने उनको दैनिकी थियो । २०६३ सालमा राहत कोटाबाट शैक्षिक पेसा अँगालेकी उनले प्रधानाध्यापकसम्म बन्दासम्म थुप्रै पेसागत र पारिवारिक चुनौती झेल्नुपरेको सुनाइन् ।

२०७२ मा माविमा महिला कोटाबाट पहिलो नम्बरमा नाम निकाल्दा पनि सरकारले घर पायक सुविधा दिन नसकेको उनको गुनासो छ । उनले तत्कालीन मन्त्रीलाई प्रश्न गरेकी थिइन्, ‘मेरो पहिलो नम्बरमा नाम आउँदा पनि किन घरपायक सुविधा नदिनु भएको रु’ त्यसबेला मन्त्रीको जवाफ हाँसोउठ्दो पाएको उनले सुनाइन् । ‘महिला राष्ट्रपति भइसक्नुभयो देशमा । अब महिलालाई के चाहियो रु’ मन्त्रीको लैंगिकताप्रतिको यस्तो सोच देखेर उनी खिन्न बनेकी थिइन् ।

तुलसाले मुस्लिम र मधेसी समुदायका बालिकालाई लक्षित गरेर पहिरनमा विविधता अपनाएकी छन् । धेरै मधेसी र मुस्लिम समुदायका बालिका कुर्ता–सुरुवाल लगाएर आउँछन् । टाईबेल्ट लगाउन रहर गर्ने विद्यार्थीलाई समेत यो सुविधा राखिएको छ । यस्ता विद्यार्थी २० जना छन् । आफू प्रधानाध्यापक भएपछि थुप्रै बालिकालाई स्कुल पठाउन अभिभावक तयार भएको तुलसाले सुनाइन् । ‘तपाईंको जिम्मामा विद्यालय पठाएका छौं भन्दै छोरी लिएर अभिभावक स्कुलसम्म आउँदा ज्यादै हर्षित हुन्छु,’ उनले भनिन् । स्राेत : कान्तिपुर