बैशाख ३, २०८१ सोमबार

एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परे ३ जना साथि, यसाे भन्छ प्रहरी !



विर्तामोड । झापाको कचनकवल गाउँपालिका–५, बेल्ले गाउँमा एउटै रुखमा तीन जना किशोरी झुण्डिएको अवस्थामा फेला परेका छन् ।

गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीका अनुसार आइतबार बिहान ७ बजे स्थानीय चिया बगानमा रहेको एक रूखमा झुण्डिएको अवस्थामा १६ वर्षीया करिना गणेश, कल्पना गणेश र १७ वर्षीया अञ्जली गणेशको शव भेटिएको हो ।

चिया बगानमा मजदुरी गर्दै आएका उनीहरु शनिबार ११ बजेदेखि बेपत्ता थिए । ‘शनिबार बगान विदा थियो, तर उनीहरु त्यहाँ पुगेका रहेछन्’ राजवंशीले भने, ‘रातिसम्म खबर नआएपछि प्रहरीलाई खबर गरिएको थियो, बिहान बगानमा काम गर्नेले शव देखेछन् ।’

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार दुई जना गाईवस्तु बाँध्न प्रयोग हुने डोरी र एकजना सलमा झुण्डिएको देखिएको छ । घटनास्थल नेपाल–भारत सीमा क्षेत्रमा पर्छ ।

प्रहरीले तीनै जनाको शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी गरेको छ । प्रारम्भिक छानबिनका क्रममा उनीहरुले आत्महत्या गरेको हुनसक्ने आशंका गरिए पनि कारण खुलेको छैन ।

झापाको कचनकवल गाउँपालिका– ५ की १६ वर्षीया करिना, कल्पना र १७  वर्षीया अञ्जली गणेश साथीसाथी हुन् ।

घर नजिकैको चियाबगानमा काम गर्ने उनीहरु प्राय सँगै हुन्थे ।  शनिबार दिउँसो १२ बजे तिर पनि उनीहरु सँगै निस्किए । घरबाट निस्किएपछि बेपत्ता भएका तीन जनाको शव आइतबार विहान घर नजिकैको  एउटै  रुखमा झुन्डिएको अवस्थामा भेटिएको  छ  ।

घटनास्थलमा आफन्तसँग कुरा गरेर फर्किएका कचनकवल गाउँपालिका– ५ का वडा अध्यक्ष मो. नुर आलमका अनुसार तीनवटै परिवार छोरी फर्किएर आउने आशमा बसेको थियो । घर आउने आशमा फर्किएका आफन्तले आइतबार विहान मृत्युको खबर पाए ।

‘दिउँसो १२ बजेसँगै हिडेका कारण आफन्तको घरमा बसे होलान् भनेर  परिवारले धेरै खोजी गरेनन्, आफन्तको घर पनि नजिकै  रहेछ, ’ उनले भने,‘आज विहान चिया टिप्न जानेले रुखमा झुन्डिएको देखेछन्  ।’

उनका अनुसार घटनाको बारेमा  स्थानीयबासी र परिवारले विहान सात बजे  जानकारी पाएका थिए । घटनाका कारण गाउँ नै शोकमा डुबेको उनले बताए । छोरी घर फर्कने आशमा बसेको तीन वटै परिवारमा अचानक मृत्यु भएको खबर पुगेको थियो । ‘घटनाले मृतकको परिवार र गाउँ शोकमा डुबेको छ’, उनले भने  ।

गाउँबाट पूर्वतर्फ रहेको झिङ खोलाको डिलमा रहेको बयरको रुखमा किशोरीहरु झुण्डिएको अवस्थामा मृत भेटिएको उनले बताए । ‘म घटनास्थलमा १० बजेतिर पुगेको थिएँ’, उनले भने, ‘घटनास्थल आसपास भेला भएका गाउँलेहरु शोकमा थिए ।’

तीन किशोरी साथीसाथी रहेको उनको भनाइ छ । ‘उनीहरु सँगै काम गर्ने साथी हुन्’, उनले भने, ‘एक्कासी झुण्डिएको अवस्थामा भेटिएका छन्, मृत्युको कारण खुलेको छैन ।’

उनका अनुसार १६ वर्षीया करिना गणेशको घर घटनास्थलबाट करिब चार मिटर पर पर्छ । कल्पना गणेशको घर घटनास्थलबाट करिब २ सय मिटर टाढा छ । अञ्जली गणेशको घर भने घटनास्थलबाट करिब दुई किलोमिटर टाढा पर्छ ।