>

भाद्र १, २०७९ बुधबार

परदेशमै हराए दुई छोरा, बाटो हेर्दै बस्छन् वृद्ध बुवाआमा छाेरा सम्म पुग्ने गरि शेयर गरिदिनु



बुवाआमाको आशा भरोसा र बुढेसकालको सहारा छोराछोरी नै हुन्छन् । उनीहरुकै आँखामा बुवाआमाले सपना देख्छन् र बुन्छन् रहरका तानाबाना । तर जब कमाउन हिँडेका छोराहरु सम्पर्कविहीन भइदिन्छन् अनि सपना मात्र टुट्दैनन् आशाको दियो पनि निभ्छ ।

इलामका रुपबहादुर बिक र उहाँकी श्रीमती सावित्राको अवस्था पनि यस्तै छ । कमाउन परदेश हिँडेका दुई छोरा डेढ दशक भइसक्दा पनि घर फर्केका छैनन् । पछिल्लो ६ वर्षदेखि त कुनै सम्पर्क नै छैन । छोराहरु के हालतमा छन् केही थाहा छैन । परदेशमा कमाउँछु भनेर मलेसिया गएका जेठो छोरा टेकबहादुर र भारत गएका माइलो छोरा भुवन वर्षौँ बित्दा पनि घर फर्किएका छैनन् ।

चार छोराछोरीमध्ये जेठी छोरीको बिहे भइसक्यो । कान्छो छोरा भने घरमै छन् । कान्छो छोराले नै सघाउँछन घरधन्दा । घरायसी समस्यामा अल्झेर कान्छो छोरा परदेश जान पाएनन् । आमाबुवाको सहारा बनेर बसेका छन् । तर सुत्केरी हुँदा कान्छी बुहारी अशक्त बनिन् । घरमा समस्या थपियो ।

अभावले लागे परदेश

घरमा आर्थिक अवस्था कमजोर थियो । छोराहरु हुर्किएपछि कमाउलान् भन्ने आशा सबै बुवाआमाको हुन्छ । शावित्रालाई पनि लाग्यो अब त छोराहरु कमाउने भए । त्यसैले उहाँले आफ्ना छोराहरुले कमाउन भारत जाने कुरा गर्दा नाइँ भन्नुभएन ।

बायाँबाट टेकबहादुर र भुवनबहादुर                                                                   बायाँबाट टेकबहादुर र भुवनबहादुर

जेठो र कान्छो छोराको उमेर अन्तर दुई वर्ष । १७ र १९ वर्षको उमेरमा दुवै भाइ भारतको सिम्ला गए । त्यहाँ स्याउको बगैँचामा काम गरे । दुई वर्ष त्यहाँ काम गरेर, केही कमाएर जेठो छोरा टेकबहादुर घर फर्किए । घर फर्केर पासपोर्ट बनाए । त्यसपछि वैदेशिक रोजगारीको लागि मलेसिया गए । भुवनले भने भारतमै मन लगाए । उतै काम गर्दै गए । १५ वर्ष भइसक्यो, भुवनले घरमा फोनसमेत गरेका छैनन् ।

टेकबहादुर मलेसिया जाँदा बिहे भइसकेको थियो । दुई छोरी थिइन् । कान्छी छोरी दुई महिनाकै छोडेर मलेसिया गएका थिए । अहिले कान्छी छोरी १३ वर्षकी भइन् । तर समय यस्तो आइदियो, आफ्नै बुवाको अनुहार पनि राम्रोसँग चिन्न नपाएका छोरीहरुले नयाँ मान्छेलाई बुवा भन्नुपर्यो । अहिले आफ्नी आमासँगै बस्छन् उनीहरु । टेकबहादुरकी श्रीमतीले अर्को बिहे गरेपछि छोरीहरु पनि सँगै गए ।

किन फर्केनन् छोराहरु ?

माइलो छोरा भुवनसँग त भारत गएको तीन चार वर्षमै सम्पर्क हुन छाडेको थियो । तर टेकबहादुरसँग भने मलेसिया गएको आठ वर्षसम्म फोन सम्पर्क हुन्थ्यो । पहिले त पैसा पनि पठाए ।  मलेसिया जाँदा लागेको ऋण पनि तिरे । सुरुमा काम गरिरहेको कम्पनी छाडेर गएपछि पनि पैसा पठाइ नै रहेका थिए । घरमा कान्छो भाइको खुट्टा भाँचिदा पनि उपचारखर्च पठाए ।

एकपटक मलेसियाको जेलमा पनि परे । जेलबाट निकालेर रोजगारदाताले टेकबहादुरलाई घरमा फोन गर्न लगाएका थिए । त्यतिबेला आफू जेल परेर छुटेको मात्र बताए । धेरै कुराकानी गर्न मन गरेनन् ।

घरबाट जसरी हुन्छ अब नेपाल आइज भनेर सम्झाए । तर टेकबहादुरले आफूसँग पैसा छैन कसरी आउँ भन्ने कुरा गरे । सावित्राले आफूसँग भएको सुन धितो राखेरै भए पनि ३९ हजार रुपैयाँ पठाइदिनुभयो । तर पनि टेकबहादुर मलेसियाबाट घर फर्केनन् ।

यसरी कमाउन परदेश लागेका छोराहरु अहिलेसम्म किन घर फर्केनन् होला भन्ने प्रश्नले रुपबहादुर र सावित्रालाई वर्षौँदेखि झुक्याउँदै आएको छ ।

कहिले छोराहरुले माया मारे होलान् र आएनन् सोच्नुहुन्छ । कहिले उतैतिर घरजम गरे होलान् र आएनन् सोच्नुहुन्छ । कहिलेकाहीँ उहाँको मनले भन्छ, श्रीमतीले पनि बिहे गरेर गई त्यसैले आउन मन गरेन होला । उहाँ टेकबहादुरलाई भन्न चाहनुहुन्छ, ‘आफ्नो छोरीको माया त छ होला नि ?’ तर फेरि छोरीहरु पनि आमासँगै गएकाले पो छोराले आउन मन गरेन कि भन्नुहुन्छ सावित्रा ।

उहाँको मनले एउटै कुरा कहाँ सोच्छ र ? अप्ठेरोमा परेको होला, जेल हालेको होला, कुटाइ खाँदैहोला भन्ने लाग्छ कहिलेकाहीँ । भन्नुहुन्छ, ‘परदेशमा सत्रुको पासोमा पो पर्‍याे कि ?’

छोराको याद आउँछ

भारत र मलेसिया दुवै ठाउँमा हराएका आफ्ना छोराहरु खोज्नको लागि उहाँले सबै निकाय धाउनुभयो । तर कतैबाट कुनै भरपर्दो खबर कानमा परेन । धन नकमाए पनि छोरा आइदिए हुन्थ्यो भन्ने लाग्छ उहाँलाई ।

चाँडबाड आउँदा मिठो मसिनो खाँदा, अरुको छोराहरु घर फर्किँदा उहाँलाई आफ्नो छोराहरुकै याद झलझली आउँछ । त्यसले पीडा हुन्छ । यस्तै अनेक वेदनाले भरिएको छ उहाँको मन् । भन्नुहुन्छ, ‘बन डढेको सबैले देख्छ, मन डढेको कसैले देख्दैन भनेजस्तै, जे छ मेरो मनमै छ ।’