चैत्र १५, २०८० बिहीबार

मोजा प्याकिङ्ग गर्ने कामदारबाट म्यानेजर बनिन् कोरियामा गुल्मेली चेली



धेरैको बुझाई छ, बैदेशिक रोजगारीमा विभिन्न मूलुक पुगेका धेरै नेपालीले मजदुरी मात्र गर्नुपर्छ । तर ईमान्दारिता, मेहनेत र लगनशिलताले गर्दा माथिल्लो पदमा रहेर समेत काम गर्ने अबसर नेपालीहरुलाई जुटेको छ ।

आफ्नो मेहनेतले कम्पनीमा माथिल्लो पदमा पुगेर काम गर्ने अबसर जुटेकी नेपालीमध्येकी एक हुन दक्षिण कोरियामा रहेकी गुल्मेली चेली शुष्मा पाण्डे ।

रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत मोजा प्याकिङ्ग गर्ने कामदारको रुपमा दक्षिण कोरिया पुगेकी पाण्डे अहिले कम्पनीको म्यानेजर बनेकी छन् । गुल्मीदरबार गाउँपालिकाको चारपालाकी पाण्डे ६ वर्षअघि कोरिया पुगेकी थिईन । सुरुको कम्पनीमा करिव २ बर्ष काम गर्दागर्दै कम्पनी बन्द भएपछि उक्त कम्पनी परिवर्तन गरी ख्यङ्गिदो प्रान्तको याङ्जु सि मा रहेको सङ्गजिन फाईबर नामक मोजा उत्पादन गर्ने कम्पनीमा काम गर्न थालिन्।

उक्त कम्पनीमा सुरुवाती दिनहरुमा मोजा प्याकिङ्ग गर्ने काम बाट शुरुवात गरेकी उनले अहिले आफ्नो ईमान्दारिता, लगनशिलता, अनुशासन र मेहनतका कारण कम्पनी म्यानेजर बनेकी छन् ।

सुरुमा अर्काको देशमा काम गर्न गार्ह्रो भए पनि निरन्तरको मेहनतका कारण आज कम्पनी मालिकको मन जितेर म्यानेजर सम्म पुगेको उनी बताउँछिन् । म्यानेजर भईसकेपछी उनले कम्पनीमा उत्पादन हुने मोजाको ग्राफिक डिजाईन गर्ने देखि लिएर सामान अर्डर गर्ने, उत्पादित सामानको रेकर्ड तथा व्यवस्थापन गर्ने, अर्डर आएको सामान सम्बन्धित ठाउँसम्म पु¥याउन निर्देशन दिने सम्मको जिम्मेवारी सम्हालेकी छन् ।

उनको कम्पनीमा नेपाली, श्रीलङ्कन, कम्वोडियन, म्यानमारी, चिनिया, किर्जिकिस्थान तथा कोरियन गरी करिब २० जना कामदार छन। शुरुमा तल्लो तहको कामदार बाट काम शुरु गरेकी उनले करिव ४ बर्षको अन्तरालमा कोरियन साहुको विश्वास जितेर कम्पनी म्यानेजर सम्म पुग्न पाउनुमा आफ्नो मेहनत र ईमान्दारीताले प्रमुख भूमिका खेलेको उनी बताउँछिन।

‘कोरिया जुनसुकै कामलाई सम्मान गर्ने, योग्यता, कार्यदक्षता र मेहनत लाई कदर गर्ने देश भएको कारण पनि म आज यो स्थानमा पुग्न सफल भएँ’, उनले भनिन् ।

कोरिया श्रमको राम्रो मूल्य पाउने भएको कारण न्युन तथा मध्यमवर्गका नेपाली परिवारका लागी छिट्टै आर्थोपार्जन गर्न सकिने मुलुकको रुपमा आकर्षक रहेको छ । कोरियनहरु इमान्दारीता र श्रमको उचित मूल्यांकन गर्ने भएकोले प्रगति गरेको र नेपालीलाई पनि इमान्दार भएर काम गर्न उनले सुझाव दिइन् ।

‘यहाँका मानिसहरुको आफू ईमान्दार बन्ने र इमान्दारिताको कदर गर्ने, भेदभावरहित व्यवहार र अनुसासनका कारण नै यो देशले यति धेरै आर्थिक प्रगति गर्न सफल भएको होला जस्तो लाग्छ’, उनी भन्छिन्, ‘ईपिएस मार्फत आउने नयाँ साथीहरुलाई ईमान्दारिता लगनशिलता र मेहनतका साथ काम गर्ने हो भने कम्पनीको माथिल्लो दर्जा सम्म पुग्न सकिने साथै आफ्नो परिवारको आर्थिक खुडकिला हरु छिट्टै पार गर्न सकिन्छ ।’

आफूले सिकेको सिप प्रयोग गर्दै अहिले काम गरेको कम्पनीसँग आवद्ध भएर नेपालमा मोजा उद्योग खोल्ने उनको सोँच छ । साथै ईपिएस मार्फत कोरिया पुगेका यूवाहरुलाई आफूले कोरियामा सिकेको शिप तथा अनुभव लाई आफ्नै देशमा प्रयोग गरेमा नेपालको आर्थिक विकासमा टेवा पुग्ने उनको भनाई छ ।