चैत्र १६, २०८० शुक्रबार

सुत्केरीलाई डरलाग्दाे ‘स्माइली डिप्रेसन’, डेढ महिने छोरी घरमा छोडेर नारायणीमा हाम फालिन ऋचा



चितवन । झापाबाट सुत्केरी बस्न माइतीगाउँ चितवन खैरेहनी गएकी ऋचा उप्रेती गत ७ भदौमा नारायणीमा हाम्फालिन् । चितवन प्रहरीले उद्दार टोली खटाएर नारायणीको बर्खे भेलमा हराएकी ऋचाको खोजी गर्‍यो । तर, उनी भेटिइनन् । जति प्रयास गर्दासमेत फेला नपरेपछि परिवारले मन बुझायो । आइतबार १३ औँ दिनको सांस्कृतिक विधि पुर्‍यायो ।

‘मनको पीडा कसैलाई नभनेरै दूधे नानी छाडेर उनी गइन् । नियतिको खेल सहनुको विकल्प भएन’, ऋचाका पति मिलनले भने, ‘अघिल्लो रात मसँग आधा घण्टा भिडियोकल भएको थियो । छोरीसँग उनी हाँसीखुसी थिइन् । बिहान पनि घरमा कुरा गरेकी थिइन् । बुबाआमालाई छोरी देखाएकी थिइन् । दिउँसो त्यस्तो निर्णय लिँदैछिन् भन्ने कल्पनासमेत भएन ।’

२०७६ फागुनमा प्रेम विवाह गरेका ऋचा र मिलनकाे सम्बन्ध प्रेमिल थियाे । पेसाले इन्जिनियर मिलन उपन्यासकारका रूपमा पनि परिचित छन् । उनका च्याट गर्ल र पर्पला उपन्यास प्रकाशित छन् । ऋचा कान्तिपुर सीटी कलेज (केसीसी) बाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गर्दै थिइन् । ऋचा चारवटै सेमेस्टर राम्रो ग्रेडसहित पास भएकी थिइन् । थेसिस सुरु गर्दै थिइन् ।

परिवारका अनुसार कहिँ कतै समस्या नभएकाे बेला एकाएक यस्तो घटना कसरी भयो ? पति मिलन भन्छन्, ‘हामीले थाहै नपाई उनलाई पोष्टपार्टम डिप्रेशन भएछ । बुबाआमा र मैले चिन्ता गर्लान् भनेर पीडा मनमै लिएर केही नभनेरै गइन् । ’माइतीघर खैरेहनी गएपछि ऋचामा निद्रा नलाग्ने समस्या भयो । छोरीको स्याहार र दूध चुसाउन छिनछिनमा उठ्ने गर्दागर्दै उनको आँखाबाट निद्रा हरायो । भित्रभित्रै निराशाले गाँजेको थियो सायद । तर, उनले कहिल्यै अनुहारमा दुःख, पीडा र निराशा नदेखाएको पति मिलन सुनाउँछन् । मानसिक रोग विशेषज्ञ डा बासुदेव रिजाल पोष्टपार्टम डिप्रेशनका कतिपय बिरामीमा अरुलाई पीडा नदेखाइ बाहिरबाट हेर्दा हाँसीखुसी लक्षण पनि हुने बताउँछन् । ‘यसलाई हामी स्माइली डिप्रेशन भन्छौँ । बिरामीको यस्तो व्यवहारले धेरैलाई झुक्याउँछ’, डा रिजाल भन्छन्, ‘मनमा दुःख, पीडा र निराशा राखेर बाहिर सबै ठीकठाक छ भनेजसरी हिँड्दा कसैले अनुमानसम्म गर्दैनन् ।’

ऋचा उपचारका लागि चिकित्सककहाँ पनि पुगेकी थिइन् । चिकित्सकले अस्पताल भर्ना हुन सल्लाह दिएका पनि थिए । तर, उनी ‘नानीलाई लिएर अस्पताल बस्न गाह्रो हुन्छ, नियमित औषधि खान्छु’ भनेर घर फर्केकी थिइन् । आफूमा बढ्दै गएको बेचैनी, निराशा र अनिद्राबारे उनले बहिनीलाई बताएकी थिइन् । तर, बुबाआमा र आफूले थाहा पाए चिन्ता गर्छन् भनेर कसैलाई नभन्नु भनेकी थिइन् । त्यसैले पोष्टपार्टम डिप्रेशनको अन्तिम तहमा पुग्दासमेत मिलन र बुबाआमाले थाहपत्तो पाएनन् । ‘निद्रा नलागेको भन्थिन् । त्यसलाई हामीले सामान्य रूपमा लियौँ । त्यो नै गल्ती भयो’, उनले भने ।

के हो पोष्टपार्टम डिप्रेशन ?

मानसिक रोग विशेषज्ञ डा बासुदेव रिजाल गर्भावस्था र बच्चा जन्मिइसकेपछि धेरै आमामा देखिने डरचिन्ता र निराशा बढ्दै जाँदा पोष्टपार्टम डिप्रेशन हुने बताउँछन् । उनका अनुसार, हरेक सुत्केरी आमामा एकखालको डर चिन्ता उत्पन्न हुन्छ । त्यसलाई पोष्टपार्टम ब्लुज भनिन्छ । ७० देखि ८० प्रतिशत सुत्केरीमा त्यो समस्या हुने गरेको उनी बताउँछन् । त्यो समस्या सामान्य र अस्थायी खालको हुन्छ । सुत्केरीलाई ७२ घण्टासम्म त्यो डर चिन्ता र निराशाले सताउने रिजालको भनाइ छ ।

केही सुत्केरीमा लामो समय असर हुने समस्या देखिन्छ, जसलाई पोष्टपार्टम साइकोसिस भनिन्छ । डा रिजालका अनुसार, त्यस्ता सुत्केरीमा यो बच्चा किन जन्मियो भन्ने भावना जन्मिन्छ । ‘यो बच्चाले मलाई हानी गर्नसक्छ भनेर आमाले बच्चा स्याहार्नै छाड्छन् । कतिपयले मेरो बच्चा हैन भनेर अस्वीकारसमेत गर्छन्’, उनले भने । त्यस्तो समस्या २० देखि २५ प्रतिशत सुत्केरीमा देखिने गरेको छ ।

पोष्टपार्टम डिप्रेशन साइकोसिसकै एउटा पाटो हो । यसमा आमाले बच्चाको स्याहार नगर्ने, खाना पनि नखाने, सामान्य सरसफाइमा पनि ध्यान नदिने लक्षण देखिन्छ । ‘यो डिप्रेशन बढ्दैजाँदा कतिपयले बच्चा र आफूलाई नै हानी पुग्ने गतिविधि गर्नसक्छन्’, डा रिजालले भने, ‘त्यस्ता सुत्केरीलाई तत्काल औषधि उपचार सुरु गरिएन् भने आत्महत्याको तहमा पुग्छ ।’ खाना नखाने र आफू तथा बच्चालाई हानी पुर्‍याउने तहमा पुगेका बिरामीलाई करेन्ट लगाएर द्वितीय उपचार गर्नुपर्ने हुनसक्ने उनी बताउँछन् ।

मानसिक रोग विशेषज्ञ डा रिजालको अनुभवमा समाजमा प्रायः समस्या देखिए पनि धेरैलाई पोष्टपार्टम डिप्रेशनबारे जानकारी नहुँदा क्षति ब्यहोरेपछि मात्र थाहा पाउने अवस्था छ । ऋचाको घटना विश्लेषण गर्दा उनले नारायणीमा हाम्फाल्ने योजना पहिल्यै बनाएको देखिन्छ । उनी टिकटक बनाउने निहुँमा नयाँ कपडा लगाएर निस्किन्छिन् । बन्द–हड्तालको पर्वाह नगरी १८ किलोमिटर टाढा नारायणी पुग्छिन् र, हाम्फाल्छिन् । पति र बहिनीका लागि म्यासेजको तयारीसमेत उनले पहिल्यै गरेको देखिन्छ ।

डिप्रेशनमा आत्महत्याको यति लामो योजना हुन्छ ? डा रिजालका अनुसार, डिप्रेसनका बिरामीले धेरै अगाडिदेखि नै आत्महत्याबारे सोच्ने, योजना बनाउने र आवश्यक तयारी गर्ने गर्छन् । ‘हाउभाउ, व्यवहार हेरेर तपाईं अनुमान गर्न सक्नुहुन्न । सँगै बस्नेले उसको बानीव्यहोरा र संवादबाट सोचाइ र भावना बुझनुपर्छ’, उनले भने । डा रिजालको अनुमानमा ऋचालाई स्माईलिङ डिप्रेसन भएको हुनसक्छ । त्यस्ता बिरामी हेर्दा खुसी देखिने तर मन द्वन्द्वात्मक अवस्थामा रहने समस्याबाट ग्रस्त रहने उनी बताउँछन् ।

नेपालमा गर्भावस्था तथा सुत्केरीमा प्रजनन स्वास्थ्यभन्दा पनि डिप्रेशन र आत्महत्याको अवस्था कहालीलाग्दो रहेको डा रिजाल बताउँछन् । केही वर्षअघिको एक अध्ययनले १५ देखि ४९ वर्षका महिला मृत्युमा प्रजनन् स्वास्थ्यका कारण १२ प्रतिशतको ज्यान गएकोमा आत्महत्याबाट मृत्यु हुनेको संख्या १६ प्रतिशत देखाएको थियो ।

सुत्केरीलाई किन हुन्छ डिप्रेशन ?

स्त्रीरोग विशेषज्ञ डा कृति पाल नेपाली महिलामा गर्भावस्था वा सुत्केरीपछि डिप्रेसनको उच्च जोखिम देखिएको बताउँछन् । ‘जसलाई पहिले अलिकति डिप्रेशन थियो, त्यस्ता महिलामा गर्भावस्था वा सुत्केरी अवस्थामा त्यो बढेर देखिन्छ’, उनी भन्छन् ।

पोष्टपार्टम डिप्रेशन किन हुन्छ रु डा पालका अनुसार, गर्भावस्था महिलाका लागि एकदमै गाह्रो अवस्था हो । महिलाले गर्भमा ३ देखि ४ किलोको तौलको बच्चा नौ महिनासम्म बोकेर हिँडेको हुन्छ । बाहिरबाट हेर्दा त्यो सामान्य लाग्नसक्छ, तर महिलालाई त्यसले पीडा भइरहेको हुन्छ ।

त्यसमै प्रसव पीडा थपिन्छ । बच्चा जन्मिएपछि स्याहारसुसारसमेत आमाले नै गर्नुपरेपछि सुत्केरीले आराम नपाउँदा अनिदो हुने गरेको डा पाल बताउँछन् । ‘बच्चालाई आमाले आफैँसँग सुताउनुपर्छ । दुईदुई घण्टामा उठेर दुःख खुवाउनुपर्छ । बच्चाको दिसापिसाब सुत्केरीले नै सफा गर्नुपर्छ’, उनी भन्छन्, यो सबै गर्दा आमालाई निद्रा पुग्दैन, आराम पुग्दैन । महिनौ लामो पीडाबाट गुज्रिनुपर्दा पहिले नदेखिएको डिप्रेशन पनि देखा पर्छ ।’

पोष्टपार्टम डिप्रेशनका कारण मानसिक रोग नभएका महिलालाई पनि पहिलो ६ हप्ता त्यो समस्या देखिनसक्ने डा पाल बताउँछन् । उपचारका लागि अस्पताल भर्ना भएर सुत्केरीसमेत छतबाट हाम्फालेको आफूले देखेको उनले बताए । गर्भवती र सुत्केरीको स्याहारमा विशेषतः श्रीमान र घरपरिवार सघाउनुपर्ने उनी बताउँछन् । ‘आमालाई आराम दिनुपर्छ । निद्रा पुग्न दिनुपर्छ । पोष्टपार्टम डिप्रेशन आरामसँग जोडिन्छ’, डा पालले भने ।

शिलापत्रबाट