बैशाख १४, २०८१ शुक्रबार

हीरा लुटेराकाे ‘बर्थ डे’ मा श्रममन्त्री चिफ गेस्ट,



काठमाडौं । भनिरहनु नपर्ला, नेपालका मन्त्रीहरु कति फुर्सदिला छन् । उनीहरुसँग आफ्नो जिम्मेवारी निभाउनबाहेक अरु फाल्तु कामका लागि फुर्सदैफुर्सद हुन्छ । यही प्रवृत्ति देखाउँदै श्रम तथा रोजगारमन्त्री शेरबहादुर कुँवर हिजो एक टेलिभिजन सञ्चालकको जन्मदिनको समारोहमा ‘चिफ गेस्ट’ बनेका छन् ।

समारोहमा उनले बर्थ डे केक काट्नुका साथै दुई संक्षिप्त भाषण पनि गरे । टीभी टुडेका सञ्चालक सुजन आचार्यले कुँवरलाई आफ्नो बर्थ डेमा चिफ गेस्ट बनाएका हुन् । बर्थ डे पनि चानचुने ठाउँमा होइन, याक एन्ड यती होटलमा मनाइएको थियो । पाँचतारे होटलमै बोलाइएपछि मन्त्री दलबलसहित पुगिहाले ।

आफ्नो भाषणमा उनले युवा व्यवसायीलाई प्रोत्साहित गर्न कार्यक्रममा आएको बताए । आफ्नो भाषण उनले यसरी सुरु गरेका थिए, ‘युवा व्यवसायी सुजन आचार्यजीको २२ औं जन्मोत्सव कार्यक्रममा आसन ग्रहण गर्नुभएका टीभी टुडेका अध्यक्षज्यू, प्रधानसम्पादकज्यू, टीभी टुडे परिवार र स्वयम् युवा व्यवसायी सुजन आचार्यज्यूलगायत यहाँ उपस्थित हुनुभएका सम्पूर्ण युवा साथीहरु र सबै मान्यजन महानुभावहरु र हाम्रा पत्रकार साथीहरु सबैभन्दा पहिला सुजन आचार्यजीलाई हार्दिक बधाई दिन चाहन्छु ।’

‘अरु देशका मान्छेले १५ वर्षमा यति बिलियन डलर कमायो, २० वर्षमा यति बिलियन डलर कमायो भनेर पढिन्थ्यो । आज आफ्नै अगाडि २२ वर्षीय युवा सुनौला सपना देखेर यो राष्ट्रलाई अघि बढाउन र समृद्ध बनाउन आफ्नो योगदानको हिस्सा खोज्दै अगाडि आएको छ । नेपाललाई युवा व्यवसायीको रुपमा चिनाउन प्रयास गरिरहेको यस्तो युवाको जन्मोत्सव मनाउन पाउँदा र सहभागी हुन पाउँदा धेरै खुशी लागेको छ ।

कुनै पनि मन्त्री व्यक्तिगत सम्बन्धका आधारमा कसैको जन्मदिनमा सरिक हुनु अनौठो हुँदैनथ्यो । तर, कसैको बर्थ डे सेलिब्रेसनलाई औपचारिक समारोहकै मान्यता लिएर मन्त्रीले आफैं केक काट्नु र भाषण ठोक्नु चाहिँ नौलो देखियो । योभन्दा पनि आश्चर्यलाग्दो के भने जुन व्यक्तिको बर्थ डेमा गएर श्रममन्त्रीले यसरी प्रशंसा गरिरहेका थिए, उनी विभिन्न घटनामा पटकपटक पक्राउ परेका र जेलसमेत बसेका व्यक्ति हुन् ।

२०७६ साल चैत १० गते जिल्ला प्रहरी कार्यालय मकवानपुरले हीरा लुटपाटमा संलग्न रहेको आरोपमा तीजना प्रहरी र एक ‘पत्रकार’लाई पक्राउ गरेको थियो । पक्राउ परेका कथित पत्रकार यिनै सुजन आचार्य थिए । प्रहरीका अनुसार जिल्लाको कैलाश गाउँपालिकास्थित गोगनेकी धनलक्ष्मी गुरुङको घरमा हीरा खरिद गर्ने बहानामा पुगेका प्रहरी र पत्रकारले साँझ लुटपाट गरेका थिए ।

उनीहरूको साथबाट ६१.३० क्यारेटको १२.२६० ग्रामको हीरा एक थान, जीईएम आइडेन्टिफिकेसन रिपोर्ट, चाइनिज पेस्तोल एक थान, ७ राउण्ड गोली, सञ्चार सेट चार थान, क्यामेरा एक थान, ल्यापटप एक थान र मोबाइल ६ थान बरामद भएको थियो । अदालतको फैसलाबाट एक वर्षभन्दा बढी जेल सजाय भुक्तानी गरेर आचार्य बाहिर निस्केका हुन् ।

यी नै सुजन आचार्य केही महिना अगाडि मात्रै एक नायिकाको अश्लील भिडियोमाथि ब्ल्याकमेलिङ घटनामा पक्राउ परेर केही दिनपछि धरौटीमा छुटेका थिए । यो मुद्दा अहिले पनि उनले खेपिरहेका छन् । — नेपाल प्रेसबाट