बैशाख ७, २०८१ शुक्रबार

एक इरानी महिलाको मृत्युको विरोधमा युरोपभर प्रदर्शन



पेरिस — इरानमा प्रहरी हिरासतमा मृत्यु भएकी महिला महसा अमिनीको मृत्युको विरोधमा शनिबार युरोपभर प्रदर्शन गरिएको छ । शनिबार युरोपेली नागरिकहरू उक्त घटनाको विरोधमा युरोपभर सडकमा उत्रिएका हुन् । फ्रान्सको राजधानी पेरिस, तुलुज, लियों, मासेई, जर्मनीको फ्य्रांकफर्ट, कोलोन र बर्लिन, इटालीको रोम र मिलान, स्पेनको बार्सिलोनालगायत दर्जनौं सहरमा विरोध प्रदर्शन गरिएको छ ।

महिलाका लागि देशले तोकिएको कडा इस्लामिक पोसाक कोडको उल्लङ्घन गरेको आरोपमा सेप्टेम्बर १३ मा अमिनी पक्राउ परेकी थिइन् । हिरासतमा राखेकाे तीन दिनपछि सेप्टेम्बर १६ मा प्रहरी हिरासतमै उनकाे मृत्यु भएपछि भएको प्रदर्शनले इस्लामिक गणतन्त्रलाई एक महिनाभन्दा लामो समयदेखि आन्दोलित बनाइरहेको छ ।

मध्यपूर्वमा सुरु भएको प्रदर्शन बिस्तारै युरोपलगायत विश्वका अन्य भूभागमा पनि फैलिँदै गएको छ । इरानमा आमिनीको मृत्युको विरोधमा भैरहेको प्रदर्शनको समर्थनमा पेरिस र फ्रान्सका करिब एक दर्जन सहरमा भेला भएका मानिसहरूले विरोध गरेको फ्रान्सेली मिडियाहरूले लेखेका छन् ।

पेरिसमा ‘महिला, जीवन, स्वतन्त्रता’ जस्ता नारा लगाएर इरानी झन्डा र प्लेकार्डहरू फहराउँदै प्रदर्शनकारीहरूले पेरिसको द रिपब्लिकन चोकसम्म जुलुस निकालेका थिए ।

र्‍यालीमा सहभागीहरूले महिलामाथि हुने अत्याचारको अन्त्यसँगै इरानी जनताले वास्तविक स्वतन्त्रता चाहेको भन्दै नारा लगाएका थिए । फ्रान्सको तुलुज, मासेई, लियोंलगायत दर्जनौं सहरमा भएको विरोध प्रदर्शनमा प्रदर्शनकारीहरूले ‘महसा आमिनी’ लेखिएका प्लेकार्डहरू बोकेका थिए ।

उनीहरूले ‘हामीलाई इस्लामिक शासन चाहिँदैन । हामी दूराचारवादी शासन चाहँदैनौं । हामी लोकतान्त्रिक शासन चाहन्छौं । ईरानमा गणतन्त्र चाहिन्छ‚’ जस्ता नारा लगाएका थिए ।

त्यसैगरी, इटालीको रोम र मिलान सहरमा भेला भएका सयौं प्रदर्शनकारीले इरानको सरकार र केही दिनदेखिको प्रदर्शनमा भएको भड्किएको हिंसा र दमनविरुद्ध प्रदर्शन गरेका थिए । त्यहाँ पनि प्रदर्शनकारीहरूले महसा अमिनीको तस्बिर बोकेका थिए । सान् जियोभन्नी स्क्वायरमा भेला भएका उनीहरूले ‘ नारी, जीवन, स्वतन्त्रता’ को नारा लगाएका थिए ।

शनिबार स्विट्जरल्यान्डको जेनेभा, बेलायतको लन्डन, स्विडेनको स्टकहोमलगायत दर्जनौं सहरमा विरोध प्रदर्शन गरिएको फ्रान्सेली मिडियाहरूले उल्लेख गरेका छन् ।