बैशाख १२, २०८१ बुधबार

श्रीमान् जेलमा, श्रीमती प्रदेशकै एकमात्र महिला साँसद



कैलाली – सुदूरपश्चिम प्रदेशबाट एकजना महिला मात्रै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन् । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ विजयी भएकी हुन्।

सुदूरपश्चिममा प्रतिनिधि सभा सदस्यका लागि १६ निर्वाचन क्षेत्र छन् । प्रतिनिधिसभा सदस्य श्रेष्ठले पूर्वमन्त्री कांग्रेसका रामजनम चौधरीलाई १२ हजार ३ सय ८६ मतले हराएर चुनाव जितेकी हुन्।

रञ्जिताले ३० हजार ४०४ मत ल्याइन् भने चौधरीले १८ हजार ८१ मात्रै मत ल्याए। यहाँ श्रेष्ठले निकै फराकिलो मतान्तरले जितिन्।

मंसिर ४ गते भएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्यका लागि विभिन्न दलबाट चार जना महिला उम्मेदवार बनेका थिए।

संघका लागि नेकपा एमालेबाट डोटीमा गौरी ओली, कञ्चनपुर क्षेत्र नम्बर ३ मा पनि निरुदेवी पाल, कञ्चनपुरको क्षेत्र नम्बर १ माओवादीकी बिनामगर र कैलाली क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता उम्मेदवार थिए ।

रञ्जिताको जितले सुदूरपश्चिमबाट संघीय संसदमा महिला प्रतिनिधित्व पनि गराउने भएको छ। श्रेष्ठ सञ्चारकर्मी थिइन्। २०७२ मा टीकापुर घटनापछि उनी निरन्तर श्रीमान रेशम चौधरीको न्यायका लागि संघर्ष गरिरहेकी छन्। उनकै नेतृत्वमा पुस १९ गते नागरिक उन्मुक्ति पार्टीको जन्म भयो।

पार्टी दर्ता भएको छोटो समयमा गत वैशाखमा स्थानीय तहको चुनावमा सहभागी हुनुपरेको थियो। उनको नेतृत्वले छोटो समयमा पनि त्यो बेला स्थानीय तहमा नागरिक उन्मुक्ति पार्टीले चार पालिकाको नेतृत्व लिन सफल भयो।