बैशाख १०, २०८१ सोमबार

ग्लोबल आईएमई र बिओके गाभिए, बन्यो नेपालकै ठूलो बैंक



ग्लोबल आईएमई बैंक र बैंक अफ काठमान्डूबीच एकीकृत कारोबार सुरु भएको छ। सोमबार राजधानीमा आयोजित एक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले दुई बैंकबीचको एकीकृत कारोबार सुरुवातको उद्घाटन गरे।

मर्जरपछि ग्लोबल आईएमई बैंक पुँजी, निक्षेप, कर्जा , शाखा सञ्जालमा नेपालकै सबैभन्दा ठूलो बैंक बनेकाे छ । मर्जर पश्चात् बैंकको कूल पुँजी ५७ अर्ब पुगेको छ भने चुक्ता पुँजी ३५.७७ अर्ब, कूल निक्षेप ४०० अर्ब र कूल कर्जा ३७९ अर्ब भन्दा बढी भएको छ।

मर्जरको औपचारिक समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरसँगै ग्लोबल आईएमई बैंक अधिकांश वित्तीय सूचकमा नम्बर एक बैंक हुने बताए। उनले मर्जरले दुई प्लस दुई चार नभई ५ को लक्ष्यसहित मर्जरमा गएकोले सफल भएको उनले बताए ।

‘दुई प्लस दुई चार नभई ५ को लक्ष्यसहित मर्जरमा गएकोले हामी मात्रै सफल भएका छैनौं नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाएका छौं,’ उनले भने, ‘ग्लोबल आईएमई बैंकले मर्जरमा प्राप्त गरेको सफलताले अन्य बैंक तथा वित्तीय संस्थालाई पनि मर्जरको लागि प्रोत्साहन गरेको छ ।’

उनले बैंक अंक र आकारमा मात्र नभई अर्थतन्त्र तथा वित्तीय क्षेत्रमै ठूलो परिवर्तन ल्याउने गरीको बैंक हुने दावी गरे।

बैंकले हालसम्म २१ वटा बैंक तथा वित्तीय संस्थाहरु गभिसकेको छ।

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबलका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूका तर्फबाट २ जना रहनेछन्। त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा ग्लोबलका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहने सहमति छ।

२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएको ग्लोबल आइएमई लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित छन्।

दुई बैंकहरुको मर्जर पश्चात् कूल ३६५ शाखा कार्यालय, ३६७ एटीएम, २८६ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेशस्थित सम्पर्क कार्यालय, ४० लाखभन्दा बढी ग्राहकसहित अन्य धेरै वित्तीय परिसूचकहरुमा ग्लोबल आइएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुने भएको छ।