चैत्र १६, २०८० शुक्रबार

गुल्मी जन्म, अर्घाखाँची घर, प्रचण्ड मन्त्रिपरिषदमा एक्लो दलित सदस्य



काठमाडौं – प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा दलित समुदायबाट स्थान प्राप्त गर्ने एकल पात्र सुशीला श्रीपाली बनेकी छन् ।

नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेको राज्यमन्त्रीमा श्रीपालीलाई मन्त्रिपरिषद्मा पठाएको छ । श्रीपालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

पहिलो पटक सांसद बनेकी श्रीपालीको राजनीतिक जीवन ३० वर्ष कटेको छ । माओवादी केन्द्रबाट समानुपातिकतर्फबाट सांसद बनेकी श्रीपाली कम्युनिस्ट आन्दोलनमा २०४६ देखिनै लागेकी थिइन् ।

गुल्मीको मालिका गाउँपालिका २ (साविक दर्लिङ, पाटाखर्क)मा जन्मेकी श्रीपालीले राजनीतिक जीवन प्रवास (भारत) बाट सुरु गरेकी हुन् । तत्कालीन समयमा कम्युनिस्ट आन्दोलनमा सहभागी हुन उनले महिला संगठनबाट पार्टी राजनीतिमा प्रवेश गरेकी थिइन् । राजनीतिका लागि उनको पहिलो संगठन अखिल भारत नेपाली एकता समाज थियो । पार्टी संगठन निर्माणका क्रममा भारतका सबैजसो राज्यमा पुगेको श्रीपाली स्मरण गर्छिन् । सन् १९९५ मा अखिल भारत नेपाली महिला समाजको केन्द्रीय अध्यक्ष बनिन् ।

२०५४ साल भदौमा उनी नेपाल फर्किन् । स्वदेश फर्के लगत्तै उनी माओवादी सशस्त्र युद्धमा सहभागी भइन् । तत्कालीन समयमा गुल्मी र अर्घाखाँचीलाई मिलाएर माओवादीले एउटै कमिटी बनाएको थियो । उक्त कमिटीमा उनी सदस्य बनिन् । पार्टी राजनीतिमा मिलिसियाका रुपमा उनी तत्कालीन समयमा लागेकी थिइन् । ‘सेनाको संरचनामा म गइनँ । पार्टी राजनीतिमा काम गरें’ श्रीपालीले भनिन् ।

जनयुद्धकै क्रममा २०५५ सालमा श्रीपालीले जनवादी विवाह गरेकी थिइन् । श्रीपालीको श्रीमान डम्मरसिंह ठकुरी माओवादी सेनामा थिए । सेना समायोजन हुँदा उनका पति नेपाली सेनामा प्रवेश गरे ।

२०६४ सालमा पहिलोपटक माओवादी चुनावमा प्रवेश गर्ने बेला अवध राज्य समिति अन्तर्गतको कमिटी सदस्य बनिन् । त्यसअघि पार्टीले उनलाई नवलपरासी क्षेत्रमा खटाएको थियो । माओवादीको हेटौंडा राष्ट्रिय सम्मेलनबाट उनी पार्टी केन्द्रीय सदस्य बनिन् ।

माओवादीको केन्द्रीय समेत रहेकी श्रीपाली २०६८ मा दलित आयोगको अध्यक्ष बनेकी थिइन् । २०७२ सालको संविधान जारी भएपछि नेता डा. बाबुराम भट्टराईले नयाँ शक्ति दल गठन गरेपछि उनी सोही पार्टीमा आवद्ध भइन् । करिब दुई वर्ष नयाँ शक्तिमा रहेर उनी फेरि माओवादीमै फर्केकी थिइन् ।

२०३० मा जन्मेकी श्रीपालीको स्थायी ठेगाना अर्घाखाँचीको सन्धिखर्क वडा नम्बर १० हो । यसअघि पार्टीले उनलाई कुनै पनि तहमा उम्मेदवार बनाएको थिएन ।