बैशाख १, २०८१ शनिबार

महिला अध्यक्ष र महासचिवले हाँक्दै विवेकशिल साझा, पदाधिकारीमा ५० प्रतिशत महिला



काठमाडौं – ठूला राजनीतिक दलले महिलालाई जिम्मेवारी दिन आनाकानी गरिरहेको बेला विवेकशील साझा हाँक्ने जिम्मेवारी महिला नेतृत्वको काँधमा पुगेको छ । पार्टीको शनिबार सम्पन्न प्रथम महाधिवेशनले अध्यक्ष र महासचिव सहित पदाधिकारीमा ५० प्रतिशत  महिलालाई जिम्मेवारी दिएको हो ।

महाधिवेशनले अध्यक्षमा समीक्षा बास्कोटा र महासचिवमा रञ्जु दर्शनालाई सर्वसम्मत चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र विमला अधिकारी चयन भएको निर्वाचन समितिका संयोजक केशव दाहालले जानकारी दिए ।

दाहालका अनुसार सचिवमा पवित्रा थापा, विमल तामाङ र समुद्र केसी चयन भएका छन् भने कोषाध्यक्ष दामोदर नेपाल चयन भएका छन् ।

महाधिवेशन हलबाट सबै पदाधिकारी सर्वसम्मत चयन भएको घोषणा गरिएको हो ।विवेकशील साझाको केन्द्रीय समिति ६१ सदस्यीय हुनेछ । पदाधिकारी सर्वसम्मत चयन भइसकेकाले केन्द्रीय सदस्य चयन हुने प्रक्रिया जारी रहेको छ ।