बैशाख २५, २०८१ मंगलबार

सुत्केरी मृत्यु घटना : शिशुको पोषणका लागि पाँच लाख दिने, दोषीलाई कारबाही गर्ने



काठमाडौं – त्रिशुली अस्पतालमा २४ बर्षीया सुत्केरीको मृत्यु घटनामा अस्पताल प्रशासन र बिरामीको आफन्तबीच सहमति भएको छ । बिहीबार साँझ भएको छलफलमा उक्त घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्ने र नवजात शिशुको पालन पोषणका लागि ५ लाख रुपैयाँ दिने सहमति भएको हो ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापा, विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठ, त्रिशुली अस्पतालका व्वस्थापन समितिका अध्यक्ष राजु पण्डित, मेडिकल सुपरिटेन्डेन्ट डा। दीपेन्द्र पाण्डे र मृतकका आफन्तबीच ६ बुँदे सहमति भएको छ । सहमति अनुसार घटनाको छानबिन गर्न तथा अस्पतालको आन्तरिक व्यवस्थापन सुधार गर्नका लागि रायसहित प्रतिवेदन सात दिनमा बुझाउन सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीको संयोजत्वमा समिति गठन गर्ने निर्णय भएको छ ।

त्यस्तै यस्ता घटनामा उपचार तथा क्षतिपूर्ति उपलब्ध गराउन जिल्लामा कोष कडा गर्न जिल्लास्थित स्थानीय तह, प्रदेश स्वास्थ्य मन्त्रालय लगायत सम्बन्धित मन्त्रालयमा सिफारिस गर्ने र नवजात शिशुको हकमा त्रिशुली अस्पतालमा स्वास्थ्य उपचार र नगरपालिकाले शिक्षा निःशुल्क गर्ने निर्णय भएको छ ।

चिकित्सकले गर्भवती सरिता न्यौपाने शल्यक्रिया गर्दा लापरबाही गरेको र बिरामीको अवस्था गम्भीर भइसक्दा पनि रेफरमा ढिलाइ गरेको आफन्तले आरोप लगाएका थिए ।

चिकित्सकले बच्चाको मुटुको धड्कन कम भएको र गर्भवतीको पेटमा पानीको मात्रा कम रहेकाले नर्मल डेलिभरी हुन नसक्ने भन्दै छिट्टै शल्यक्रिया गरेका थिए । तर, अप्रेसनमा लापरबाही भएका कारण बिरामीलाई इन्फेक्सन भएको बिरामीको आफन्तको भनाइ छ ।

अप्रेशन गरेको केही घन्टामा नै बिरामीको श्वासप्रश्वास समस्या भई थप उपचारका लागि काठमाडौं ल्याएपछि मनमोहन मेमोरियल शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।