बैशाख १, २०८१ शनिबार

शर्मिला वाइवाले ‘विष खाएको’ घटना शंकास्पद, वीर अस्पताल भन्छ- परीक्षणमा भेटिएन



काठमाडौं – सामाजिक सञ्जालकी भाइरल शर्मिला वाइवाले विष सेवन गरेको भनिएको घटना शंकास्पद देखिएको छ । वीर अस्पतालका अनुसार उनको शारीरिक परीक्षणमा विष सेवनको पुष्टि हुन सकेको छैन ।

प्रहरीका अनुसार हिजो राति करिब १ बजेतिर वाइवाले विष सेवन गरेको भन्दै वीर पुर्याइएको थियो । उनलाई ‘अब्जर्भेसन’ का लागि आइसीयूमा राखिएको भए पनि अवस्था सामान्य रहेको अस्पताल स्रोतले बतायो ।

‘यहाँ ल्याउँदा होसमै हुनुहुन्थ्यो । सबै प्यारामिटरहरु सामान्य नै थिए । विष सेवन गरेको भनिएकाले अब्जरभेसनका लागि मात्रै आइसीयूमा राखेका हौं,’ स्रोतले भन्यो ।

वाइवाको रगत टिचिङ अस्पताल लगेर परीक्षण गरिएको थियो । तर, त्यसमा विषको मात्रा नदेखिएको बुझिएको छ । कहिलेकाहीँ विषको असर ढिला देखिने भएकाले अहिल्यै निष्कर्षमा पुगिनसकिएको स्रोत बताउँछ ।

‘उहाँको स्वासप्रस्वास, ब्लड प्रेसर, धड्कन, मानसिक अवस्था सबै सामान्य र स्थिर छ । ब्लड रिपोर्टमा विष खाएको देखिँदैन । तर, कहिलेकाहीँ ढिला असर हुन सक्छ भनेर मात्रै कुरिएको हो,’ स्रोतले भन्यो, ‘मुखमा हालेर थुकेको वा नखाइकन खाएको अभिनय गरेको पनि हुन सक्छ ।’

बानियाटारमा दुई बहिनी र एक बच्चासहित बस्दै आएकी शर्मिलाले हिजो राति विष खाएको भन्दै सुरुमा ग्राण्डी अस्पताल पुर्याइएको बताइन्छ । युट्यूबका भाइरल म्यान जयकिशन बस्नेतले ग्राण्डीबाट आफूले शर्मिलालाई वीर पुर्याएको बताएका छन् । रमाइलो के भने उनले ग्राण्डी अस्पतालदेखि वीर अस्पतालसम्मको भिडियो खिच्दै हिँडेका थिए ।

त्यसलाई भ्लग बनाएर उनले युट्यूब च्यानलमा पोष्ट गरेका छन् । उक्त भ्लगमा जयकिशनले डाक्टरलाई उद्वृत गर्दै वाइवाको अवस्था ‘असाध्यै नाजुक रहेको’ र ‘जे पनि हुन सक्ने’ बताएका छन् । उनले वाइवालाई यो अवस्थामा पुर्याउनेहरुविरुद्ध आत्महत्या दूरुत्साहनको मुद्दा हाल्नसक्ने चेतावनी पनि दिएका छन् ।

अस्पताल स्रोतले भने अब केही घन्टा अब्जरभेसनमा राखेर वाइवालाई डिस्चार्ज गरिने बताएको छ । वाइवाका एक निकटस्थका अनुसार केही समयदेखि उनी डिप्रेसनमा छिन् । वाइवाले केही दिनअघि पत्रकार ऋषि धमलासँग आफूलाई जोडेर अन्तरवार्ताहरु दिएकी थिइन् । त्यसमा उनलाई अत्यधिक नकारात्मक कमेन्टहरु आएका थिए ।

अस्ति उनी अभिनेता पल शाहलाई स्वागत गर्न त्रिभुवन विमानस्थल पुगेकी थिइन् । पललाई भेट्न नपाएको भन्दै उनले क्यामरा अगाडि रुवाबासीसमेत गरेकी थिइन् । विमानस्थलमै उनको गायक राजेशपायल राईसँग चर्काचर्की परेको थियो । राईले उनलाई ‘ऋषि धमलालाई किन फसाउँन खोजेको ? भनेर सोधेपछि वाइवा बिच्किएकी थिइन् ।

आफूलाई अभियन्ता बताउने वाइवा सामाजिक सञ्जालमा मनपरी बोलेर भाइरल भएकी हुन् ।