बैशाख ८, २०८१ शनिबार

युरोपमा नेपाली चेलीको तलब ८ हजार नेपाली : हण्डर खाएपछि टिकटकमा गुहार मागेर नेपाल फिर्ता



काठमाडौँ — युरोप वैदेशिक रोजगारीमा जानेहरुका लागि आकर्षक गन्तव्य हो । आजभोली माल्टा, रोमानिया, बेलारुस जानका लागि धेरैको लाइन छ । काठमाडौंको एक गार्मेन्टमा मासिक ४०/५० हजारको कमउने नुवाकोटकी सानुमाया तामाङलाई पनि युराेप भनेपछि लोभ लाग्यो । गार्मेण्टकाे जागिर छाडेर उनी सहित कविता थापा मगर, अञ्जना मगर, रत्नमाया राई, पार्वती कितुङ, रमिता राई, सुस्मा तामाङ, मिना गुरुङ, मार्फा सोताङ राई बसुन्धारामा रहेको एभरेष्ट मेनपावर मार्फत बेलारुस उडे ।

बेलारूस प्रलोभन देखाउँदा एभरेण्टका देवाङ तामाङ, राजु राई लगायतले उनीहरूलाई कामदार भिसामा दैनिक ८ घण्टा ड्युटी गरेर मासिक ६५० डलर तलब पाउने आश्वासन दिएका थिए । प्रतिव्यक्ति ६ लाख रुपैयाँ खर्च गरेर  बेरारुस पुगेपछि मात्र थाहा भयो भिजिट भिसामा पो पठाइएको रहेछ । गार्मेन्टमा काम गर्ने भनेर पठाइए पनि उता गएर टेलरमा काम लगाइयो । दैनिक १२ घण्टा काम गरेर तलब पाए जम्मा ७५ देखि १५० रुबेल । त्यो भनेको नेपाली करिब ३९३९ देखि ८४१३ रूपैयाँ ।

‘त्यो पैसा महिनाभर खाना खानलाई पनि पुग्दैनथ्यो । पहिलो महिना नै हामीले निकै दुःख पायौं । यताबाट जाँदा घण्टाको ३।१५ डलर दिने भनिएको थियो । तर, उता गएपछि डलरमा नभएर रूबेलमा दिइयो,’ सानुमायाले भनिन् ।

पहिलो महिना नै भनेअुनसार तलब नपाएपछि उनीहरूले नेपालस्थित मेनपावर व्यवसायीलाई सम्पर्क गरे । मेनपावर व्यवसायीले अब दोस्रो महिना राम्रो तलब आउनले आश्वासन दिए ।

तर, दोस्रो महिना पनि उस्तै । अब शुरु भए दुःखका दिन । ‘कति दिन त भोकभोकै १२÷१२ घण्टासम्म ड्युटी, चामल नभएर कति दिन पानीमा नुन हालेर खानुपर्थ्यो,’ सानुमायाले भनिन्, ‘कति दिन भोकभोकै बस्नुपर्‍यो । पैसा कमाएर घर पठाउनु त कहाँ हो कहाँ, खान पनि पुगेन । निकै समस्या भयो ।’

एकातिर कामको तनाव, अर्कोतिर पेटभर खाना नपाइने । त्यसमाथि कम्पनीको टर्चर । कामै गर्ने नसक्ने अवस्थामा पुगेपछि उनीहरु नेपाल फर्कने उपाय खोज्न थाले । सामाजिक अभियन्ता कृतु भण्डारी टिकटकमा लाइभमा सानुमाया लगायतका महिलाहरूले आफ्नो उद्धार गरिदिन अनुरोध गरे ।

त्यसपछि भण्डारी लगायतको समूहले उनीहरूको उद्धारका लागि पहल गरेको थियो । दुई साताको प्रयासपछि उनीहरू आज स्वदेश फर्किएका छन् । घरमा स–साना छोराछोरी छोडेर गएका उनीहरू यसरी सकुशल नेपाल फर्किन पाइन्छ होला भन्ने आश मारेर बसेका थिए । तर, एनआरएन बेलारूस, दूतावास, सरकार तथा सामाजिक अभियन्ताहरूको अथक प्रयासबाट उनीहरूको उद्धार गरिएको हो ।

त्यसरी उद्धार गरिएकाहरूमा सानुमाया तामाङ, कविता थापा मगर, अञ्जना मगर, रत्नमाया राई, पार्वती कितुङ, रमिता राई, सुस्मा तामाङ, मिना गुरुङ र मार्फा सोताङ राई छन् ।

नेपाल फर्किएका उनीहरूले अब आफूलाई क्षतिपूर्तिसहित विदेश पठाउने मेन पावर व्यवसायीलाई कारवाही गरिनुपर्ने माग राखे । वर्किङ भिसा भनेर भिजिट भिसामा पठाउँदै अलपत्र पार्ने मेनपावर व्यवसायीलाई कारवाहीका लागि उजुरी दिने उनीहरूको तयारी छ । आफूहरू वैदेशिक रोजगारीमा नभई बेचिने अवस्थामा पुगेको उनीहरूको भनाइ छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले नेपाल फर्किएपछि अब बलियो आत्मविश्वास बनाएर अघि बढ्न सुझाव दिइन् । उनले विदेशमा पु-याइ अलपत्र बनाउनेलाई सरकारले कारबाही गर्ने आश्वासन दिइन् ।

उनले भनिन्, ‘नेपाल फर्किनुभएको छ, अब कुनै हौसला, आँट र आत्मविश्वास नगुमाइ काम गर्नुहोला, तपाईहरुलाई हामी न्याय दिनेछौँ, अपराधीलाई कारबाही गर्नेछौँ ।’