चैत्र १५, २०८० बिहीबार

उद्धार गरिएका युवतीमध्येकै एक जना बेचबिखनमा संलग्न



काठमाडौं – नेपाली युवतीहरूलाई भारतमा बेचबिखन गरी यौन व्यवसायमा लगाएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोले तीन जनालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी कृष्ण पंगेनीले जानकारी दिए।

मकवानपुर भिमफेदी-९ की २० वर्षीय सेन्जी भनिने सम्झना तामाङ, धादिङ धुनिबेशी-२का २५ वर्षीय भुवन तामाङ र उनकी श्रीमती २० वर्षीया सुस्मा मगराती पक्राउ परेका हुन्। मानव बेचबिखन गर्ने गिरोह नै भए पनि प्रहरीले यसमा संलग्न तीन जनालाई मात्रै पक्राउ गरेको हो। अन्यको खोजी गरिरहेको प्रहरीले जनाएको छ।

एसपी पंगेनीका अनुसार उनीहरूले काठमाडौंका विभिन्न बार, क्लब, क्याफे लगायत मनोरञ्जन क्षेत्रमा कार्यरत युवती तथा महिलाहरूलाई निशाना बनाउँथे। विभिन्न माध्ययमबाट सम्पर्क गरी उनीहरूसँग कुराकानी गर्ने प्रहरीको अनुसन्धानबाट खुलेको छ।

उनीहरूले भारतको दिल्लीका होटल, रेस्टुरेन्ट, फेन्सी पसलमा आकर्षक तलबको काम लगाइदिने भनेर फकाएको पाइएको हो। त्यसरी फकाएर दिल्ली पुर्‍याई जबर्जस्ती यौन व्यवसायमा लगाएको भन्‍ने गोप्य सूचना ब्युरोले पाएको थियो।

त्यसपछि भारतस्थित नेपाली दूतावास र सामाजिक संस्था कीन इन्डियासँग सहकार्य गरी ९ जना पीडितको उद्धार गरेको एसपी पंगेनीले बताए। उनीहरूलाई चैत ७ गते काठमाडौं ल्याइएको हो। अहिले उनीहरूलाई सामाजिक संस्थाको संरक्षणमा राखिएको छ।

प्रहरीका अनुसार उनीहरूले युवतीहरूलाई दिल्ली पुर्‍याउन काठमाडौंबाट नेपालगन्ज हुँदै जमुनाहा नाका पार गरी दिल्लीको बसमा चढाउँथे। गत असोजदेखि फागुनसम्ममा ती ९ जना पीडितलाई दिल्ली पुर्‍याएका थिए। केही पीडितलाई भने गाडीमा समेत लगिएको अनुसन्धानबाट खुलेको एसपी पंगेनीले बताए। त्यसबीच औषधि मिसाएको प्याकिङ खाना तथा जुस दिएर बेहोस बनाई सीमा कटाएको पनि उनले बताए।

‘दिल्ली पुगेपछि उनीहरूले मोबाइल र भारतीय नम्बर पनि उपलब्ध गराएको पायौं। पीडितको फेसबुक आइडीहरू खोलिदिने र गिरोहकै व्यक्तिहरूले पासवर्ड लिएर अनलाइन निगरानी पनि गरेको पायौं,’ उनले भने।

यस्तै उनीहरूलाई दिल्ली किशनगणस्थित पन्जाबीढावा भन्ने स्थानमा भाडामा राखिएको थियो। जुन फ्ल्याट पनि सिसिटिभीको निगरानीमा राखिएको थियो।

‘ग्राहकलाई ह्वाट्सएपबाट युवतीहरूको फोटो पठाउने र उताबाट छानेपछि ती व्यक्तिले नै भनेको होटल, घरहरूमा पुर्‍याउने गरेको अनुसन्धानबाट खुलेको छ,’ उनले भने, ‘चिनजानकै विश्वासिला ट्याक्सी ड्राइभरमार्फत ग्राहकले भनेको ठाउँमा पुर्‍याउँथे।’

यस्तै एक जना युवतीले एक महिनामा कम्तीमा पनि १८० जनासँग शारीरिक सम्पर्क गर्नुपर्ने भन्दै दबाब दिने गरेको पनि पीडितहरूले प्रहरीलाई बताएका छन्। गिरोहले पीडित युवतीहरूलाई दिल्लीबाहेक अन्य सहरहरूमा समेत पठाउने गर्थे।

ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठका अनुसार सेन्जीले मात्रै ८ जनालाई बेचबिखन गरी यौन व्यवसायमा लगाएको खुलेको छ। प्रत्येक व्यक्तिबाट उनले ५० हजार रूपैयाँ लिने गरेको अनुसन्धानबाट खुलेको उनले बताए।

यद्यपि उनले भने ८ जनालाई पठाएबापत तीनपटक गरी ६० हजार लिएको प्रहरीसँग दाबी गरेकी छन्।

‘सेन्जीले विभिन्न क्लब, होटलहरूमा गएर युवतीहरूलाई लोभ्याउने, फकाउने गर्थिन्। उनले मात्रै ८ जनालाई पठाएकी छन्। तीनपटक गरी ६० हजार कमिसन पाएको भनेकी छन्,’ एसएसपी श्रेष्ठले भने, ‘तर हाम्रो सूचनाअनुसार उनले एक जना बराबर ५० हजार लिन्छिन् भनिएको छ। तर उनले त्यो कुरा स्वीकार गरेकी छैनन्।’

श्रीमान-श्रीमती भुवन र सुस्माको भने दुई/तीन जनालाई बेचबिखन गर्नमा भूमिका देखिएको छ। उनीहरूले पनि सेन्जीले जस्तै युवतीहरू खोज्ने गरेको देखिन्छ।

भुवनले युवतीहरूलाई प्रलोभनमा पारेपछि बसपार्कसम्म पुर्‍याउँथे। पीडितलाई आफ्नी श्रीमती सुस्मासँगै दिल्ली पठाउँथे।

‘सुस्मा आफैं पनि दिल्ली पुगेकी छन्। फेरि उनी दुई महिने बच्चाकी आमा पनि हुन्। उनलाई पनि भारतबाटै उद्धार गरी ल्याएका हौं,’ उनले भने।

सुस्मा पनि भारतमै पीडितहरूसँग फेला परेकी थिइन्। तर उनको पनि मानव बेचबिखन गर्नेमा भूमिका थियो/थिएन भन्ने खुलेको थिएन। पीडितको उद्धार गर्ने बेलामा प्रहरीले उनलाई पनि सँगै ल्याएको थियो।

‘त्यस्तै ठाउँमा सुस्मालाई भेटाएर हामीले उद्धार भनेर ल्याएका थियौं। बच्चा पनि उनीसँगै थियो। यहाँ ल्याएर पनि सोधपुछ गर्ने क्रममा उनले नै तीन जनालाई त्यहाँ पठाएको खुल्यो,’ एसएसपी श्रेष्ठले भने, ‘त्यसपछि उनी र उनका श्रीमानलाई पनि पक्राउ गरेका हौं।’

दुई महिनाको बच्चा भएकी श्रीमतीलाई किन भारत पठाएको भन्नेबारे श्रीमान भुवनसँग सोधपुछ गर्दा पैसा कमाउन पठाएको भन्दै जवाफ फर्काएका छन्।

मानव बेचबिखनमा संलग्नहरू अरूहरू अझै भारतमै रहेको पनि उनले बताए। गिरोहका अन्य व्‍यक्ति र पीडितको पनि खोजी भइरहेको उनले जानकारी दिए।

पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान गर्न ब्युरोले काठमाडौं जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्न अनुमति दिएको छ।