चैत्र १६, २०८० शुक्रबार

निरा पाण्डेको हत्या आरोपी : पहिला बाउन्सर, बेरोजगार भएपछि सुन लुट्न हत्या



काठमाडौँ । कपनको सरस्वतीनगरकी निरा पाण्डे आचार्यको हत्या लुटपाटकै उद्देश्यले गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्याको आरोपमा प्रहरीले शनिबार साझँ झापाबाट पक्राउ गरेका विनोद विकले लुटपाटकै लागि हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको हो।

निराको गत वैशाख ७ गते आफ्नै पसलमा बसिरहेको समयमा धारिलो चक्कुले करिब २० पटक आक्रमण गरी हत्या गरिएको थियो ।

घटनाबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरोकी प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरेको थियो । सोही समितिले हत्या भएको ९ दिनपछि शुक्रबार राती मात्रै प्रहरीको प्राविधिक विश्लेषणबाट हत्यामा संलग्न रहेका युवक विनोद भएको निष्कर्षमा पुगेको थियो ।

हत्याका आरोपीको पहिचान गरेपछि प्रहरीले शनिवार बिहानै विनोद बस्ने गरेको काठमाडौँस्थित कोठामा छापा मारी हत्यामा समयमा लगाइएको रगत लतपतिएको कपडा र अन्य केही प्रमाण बरामद गरेको थियो भने भागेर झापा पुगेका विकलाई झापा नै पुगेर पक्राउ गरेको हो ।

त्यसपछि केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय ९अपराध महाशाखा०का दुई डीएसपी विनोदको खोजीमा शनिवार अपराह्न झापा गएका थिए । शनिवार नै विनोदलाई झापामा रहेको साथीको कोठामा लुकिबसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

हत्या आरोपी विक पहिले ठमेलको एक क्लबमा बाउन्सरको रूपमा काम गर्ने गरेको र पछिल्लो समय बेरोजगार रहेको खुलेको छ । बेरोजगार रहेकोले नै खर्चका लागि निराले घाँटीमा लगाएको सुनको सिक्री लगायत नगद लुटपाट गर्ने उद्देश्य रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सुरुमा निराको हत्या नै गर्ने उद्देश्य नभए पनि लुटपाटका क्रममा निराले प्रतिकार गरेपछि निराको हत्या गरी सुनको सिक्री लिएर भागेको प्रहरी स्रोतको दाबी छ । प्रहरीले निराको सुनको सिक्री पनि बरामद गरिसकेको बताइएको छ ।

घटनाको छानबिन गरी दोषी पत्ता लगाउने जिम्मा पाएको समितिका एक सदस्यका अनुसार आरोपितले आफ्नो अपराध कबुल गरिसकेका छन् ।