बैशाख १८, २०८१ मंगलबार

महिला संगठनको बन्दसत्रमा पुगेपछि पार्टी अध्यक्ष लिङ्देनको बिरोध



राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको बन्दसत्रमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी भएपछि विरोध भएको छ ।

विरोध गर्नेमध्येकी एक जना महिला नेतृले महिला मात्रै सहभागी भएर चयन गर्नुपर्ने केन्द्रीय समिति सदस्यदेखि अध्यक्षसम्मको पदमा अध्यक्ष लिङ्देनले हस्तक्षेप गर्न सक्ने बताइन् ।

‘सम्मेलनको खुलासत्रमा सम्बोधन गर्नुभयो । तर, बन्दसत्रमा उहाँ किन आउनुभयो ? स्पष्ट छ, उहाँ हस्तक्षेप गर्न आउनुभएको हो । यो मान्य हुँदैन’, उनले शिलापत्रसँग भनिन् ।

संगठनको पहिलो एकता महाधिवेशन आइतबारदेखि काठमाडौंमा जारी छ । अधिवेशनको खुलासत्रलाई सम्बोधन गरेका अध्यक्ष लिङ्देन सोमबार बन्दसत्रमा पनि सहभागी भएका हुन् । अध्यक्ष लिङ्देनसँगै पार्टीका अन्य पदाधिकारी पनि बन्दसत्रमा सहभागी भएका छन् ।