बैशाख १८, २०८१ मंगलबार

त्रिभुवन विमानस्थलबाट तस्करीको करिब १०० केजी सुन बरामद



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब सय केजी सुन बरामत भएको छ । मोटरसाइकल र स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाएर हङकङबाट तस्करी गरि विमानस्थल भन्सार कार्यालयले भन्सारसमेत जाँचपास गरेर बाहिर पठाएको उक्त सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको हो।

घटना मंगलबार रातीको भएपनि बुधबार बेलुकामात्र सार्वजनिक भएको छ । क्याथे प्यासिफिकको विमानबाट आएको सुन मंगलबार दिउँसो करिब २ बजे नै भन्सार पास भएको थियो । ब्रेक सु र रेजरको कागजात देखाएर रेडी ट्रेडको नाममा आएका तीन कार्टुन सामान भन्सार पास भएर बाहिरिएको थियो । ती कार्टुन विमानस्थल भन्सार कार्यालय अगाडिबाट बा२च २३२४ नम्बरको ट्याक्सीमा राखेर लैजान लागिएको थियो  ।
तर राजस्व अनुसन्धान विभागले उक्त सामानभित्र सुन तस्करी हुँदै गरेको भन्ने गोप्य सूचना पाएपछि महानिर्देशक नवराज ढुंगानाकै नेतृत्वमा अप्रेसन चलाइएको थियो । भन्सार पास भएको तीन घण्टापछि सुन बरामद भएको जनाईएको छ । सुन जोख्न बाँकी रहेकोले यकिन परिमाण आइनसकेको भएपनि करिब सय केजी हाराहारीमा रहेको अनुसन्धान विभागका अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार सुनका एक सय ६० टुक्रा बरामद भएका छन्, जसको मूल्य करिब एक अर्बभन्दा बढी रहेको अनुमान गरिएको छ । नेपालमा सुन बरामद परिमाण यो नै अहिलेसम्मकै ठूलो हो । यसअघि एकैपटक ८८ केजीसम्म बरामद भएको थियो ।
विभागले तस्करीमा संलग्न भएक‍ो आरोपमा रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई र ट्याक्सीचालकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । दिलीपको बयानका आधारमा रामकुमार पक्राउ परेका हुन् । रामकुमार दिलीपका मामा हुन् । ‘मैले मामाले भनेअनुसार सो सामान पास गराएको हुँ,’ उनले बयानमा भनेका छन् । मामा–भान्जा बुधबार पक्राउ परेका हुन् भने अन्य दुई मंगलबार नै पक्राउ परेका थिए ।

प्रारम्भिक अनुसन्धानमा सो सुन व्यवसायी दीपक मलहोत्राको भएको देखिएको अनुसन्धानमा खटिएका अधिकृतहरूको भनाइ छ, तर अनुसन्धान जारी रहेकाले उनीहरू औपचारिक रूपमा बोल्न चाहँदैनन् ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले अनुसन्धान भर्खरै सुरु भएकाले धेरै पाटा खुल्न बाँकी रहेको बताए ।
भन्सार जाँचपासबाट बाहिरिएको सुन भएकाले यसमा भन्सारका कर्मचारी पनि छानबिनमा छन् । अन्य सामानमा सुन मोरेर ल्याइएकाले भन्सार जाँचपासमा पत्ता नलागेको हुन सक्ने भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए ।

स्रोतका अनुसार विभागले सामान आयात गर्ने नाम चलेका ती व्यवसायीको पहिचान गरिसकेको छ ।

यो घटनाले सामान्य तस्करी मात्रै होइन, कुख्यात ‘बिकिनी किलर’ चार्ल्स शोभराजले भनेजस्तै ‘नेपालका विमानस्थलबाट हात्ती पनि सजिलै छिर्छ’ भन्ने पुष्टि भएको छ । यसअघि पनि पटक–पटक विमानस्थलबाट ठूलो परिमाणमा सुन तस्करी हुने गरेका घटना सार्वजनिक हुँदै आएका छन् । अनुसन्धानमै खटिएका अधिकृतहरूका अनुसार पछिल्लो दुई महिनामा मात्रै अहिले सुन ल्याउने तस्कर गिरोहले नै कम्तीमा २५ पटक सुन ल्याएको छ ।