बैशाख १८, २०८१ मंगलबार

महिलालाई निर्वस्त्र बनाएको भिडियो सार्वजनिक भएपछि भारतभर आक्रोस, ५ जिल्लामा कर्फ्यू



नयाँदिल्ली — भारतको मणिपुर राज्यमा दुई महिलालाई निर्वस्त्र बनाएर घुमाइएको भिडियो सार्वजनिक भएपछि भारतभर आक्रोश फैलिएको छ । महिलालाई निर्वस्त्र बनाएर घुमाएको भिडियो सार्वजनिक भएपछि उक्त दुर्वव्यवहारको बिरोधमा आक्रोशित मानिसहरुले नयाँदिल्ली र मणीपुर लगायतका क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

भारतको मणीपुर राज्य साढे दुई महिनायता जातीय हिंसाका कारण अशान्त छ । सोही हिँसाका क्रममा कुकी समुदायका महिलालाई मैतेई समुदायका व्यक्तिहरुले निर्वस्त्र पारेर घुमाएको भिडियो सार्वजनिक भएको हो । मणिपुर प्रहरीले भिडियोको पुष्टि गर्दै गत मे ४ मा उक्त राज्यको थोबल जिल्लामा ती महिलामाथि यौन दुव्र्यवहारको घटना भएको बताएको छ । भिडियोमा देखिएका महिलाहरूको उमेर २० र ४० वर्ष हाराहारी रहेको बताइएको छ ।

ती महिलाहरुले प्रहरीमा जाहेरी दिएकाे इन्डियन एक्सप्रेसले लेखेकाे छ । उनीहरुले यौन उत्पीडनको जाहेरी मे १८ मा कांगपोकपी जिल्लामा दायर गरेपनि पछि सम्बन्धित प्रहरी कार्यालयमा मुद्दा पठाइएको थियो । मणिपुरका एसपी मेघचन्द्र सिंहले जारी गरेको प्रेस विज्ञप्तिमा दोषीहरूलाई पक्राउ गर्न पूरा प्रयास गरिरहेको जनाइएको छ ।

के थियो घटना ?

जाहेरी अनुसार घटनाको अघिल्लो दिन करिब १ हजार व्यक्तिले उनको गाउँमा लुटपाट गर्ने उद्देश्यले आक्रमण गरेका थिए । उनीहरूले बस्तीमा आगो लगाइदिएका थिए । त्यसपछि पीडितहरू दुई महिला, एक युवती आफ्नो बुबा र भाइको साथमा जंगलतर्फ भागेका थिए । पछि उनीहरूलाई प्रहरीले उद्धार गरेर प्रहरी कार्यालयमा लैजाँदै थियो । आक्रमणकारीले बाटोमै प्रहरीबाट थुतेर उनीहरूलाई नियन्त्रणमा लिएको र निर्वस्त्र बनाएर घुमाएको पीडितले बताएका छन् । त्यसक्रममा युवतीमाथि सामूहिक बलात्कार भएको थियो भने आक्रमणकारीले उनका बुबा र भाइलाई मारेका थिए ।

जाहेरीमा भिडियोमा नदेखिए पनि अर्की ५० वर्षीया महिलालाई पनि निर्वस्त्र हुन बाध्य पारेको र एक युवतीमाथि सामूहिक बलात्कार भएको पनि उल्लेख रहेको द वायरले जनाएको छ । घटनामा संलग्न (हाल अज्ञात) व्यक्तिविरुद्ध अपहरण, सामूहिक बलात्कार र हत्याको कसुरमा मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ । ‘अनुसन्धान सुरु भइसकेको छ, आरोपितको खोजीलाई तीव्रता दिइएको छ,’ मणिपुर प्रहरीले भनेको छ ।

भिडियो सार्वजनिक भएपछि घटनाको बिरोधमा राजधानी नयाँदिल्ली र मणिपुरका विभिन्न स्थानमा प्रदर्शन भएको छ । सरकारले मणिपुर हिंसालाई समयमै रोक्न असफल भएको भन्दै विपक्षीले आलोचना गरेका छन् । प्रदर्शन चर्किन सक्ने भएपछि राज्य सरकारले इम्फाल इस्ट, इम्फाल वेस्ट, विश्नुपुर, काकचिंग र थोबल गरी ५ जिल्लामा कर्फ्यु जारी गरेको छ ।

प्रधानमन्त्रीले साढे दुई महिनापछि मुख खाेले

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मणिपुरमा चलिरहेको हिंसाबारे पहिलो पटक मुख खोलेका छन् । यति लामो समयसम्म हिंसा चलिरहँदा पनि कुनै प्रतिक्रिया नदिएका मोदीले उक्त घटनाबाट पीडा भएको बताएका हुन् । ‘कुनै पनि सभ्य समाजका लागि यो घटना लज्जाको विषय हो । यो पाप गर्ने कति छन्, को हुन्, आफ्नो ठाउँमा छ, तर यसले पूरै देशको बेइज्जति भएको छ । सबै देशवासीका लागि लाज मान्नुपर्ने अवस्था आएको छ,’ मोदीले भनेका छन् ‘आआफ्नो राज्यमा कानुनी व्यवस्था बलियो बनाउन म मुख्यमन्त्रीहरूलाई अपिल गर्छु ।’

मणिपुरका मुख्यमन्त्री एन वीरेन सिंहका अनुसार घटनामा संलग्नताको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । उनले दोषीहरूलाई फाँसीको सजाय दिलाउन प्रयास गर्ने बताएका छन् । केन्द्रीय महिला एवं बालविकास मन्त्री स्मृति इरानले पनि ट्वीट गर्दै घटनाबारे मुख्यमन्त्री सिंहसँग कुरा भएको र दोषीलाई पक्राउ गर्न कुनै कसर बाँकी नराखिने जनाएकी छन् । भारतको सर्वोच्च अदालतले पनि यस घटनालाई स्वतः जानकारीमा लिई मुद्दा अघि बढाउने भएको छ । यसका लागि जुलाई २८ मा सुनुवाइ तोकिएको छ ।

मणिपुरको इन्डिजेनस ट्राइबल लिडर्स फोरमले घटनाको निन्दा गर्दै राज्य सरकार, केन्द्र सरकार, राष्ट्रिय महिला आयोग र अनुसूचित जनजाति राष्ट्रिय आयोगले यो मामिलामा हस्तक्षेप गर्नुपर्ने जनाएको छ । कंग्रेस नेता राहुल गान्धीले प्रधानमन्त्री मोदीको मौनता र निष्क्रियताका कारण मुणिपुरमा अराजकता फैलिएको आरोप लगाएका छन् । उनले आफूहरू मणिपुरबासीको साथमा रहेको र अब एक मात्र विकल्प शान्ति रहेको प्रतिक्रिया दिएका छन् ।

के हाे जातीय हिँसाकाे कारण ? 

मणिपुरमा मैतेई र कुकी समुदायको बाहुल्य छ । केही नागा समुदाय पनि छ । कुकी र नागा जनजाति समुदायका हुन् । उनीहरूलाई सरकारी सेवा तथा जमिनको हकमा विशेष आरक्षण तथा सुविधा प्राप्त छ । उनीहरूको पकड मणिपुरको पहाडी क्षेत्रमा छ । कुकी र नागा इसाई धर्मावलम्बी हुन् । त्यस्तै, अर्को समुदाय हो, मैतेई । उनीहरू बहुसंख्यक हिन्दु छन् । मणिपुरको ३० लाख जनसंख्यामा उनीहरूको उपस्थिति ५० प्रतिशतभन्दा बढी छ । उनीहरूको मुख्य बसोबासको क्षेत्र मणिपुरको राजधानी इम्फाल र त्यसको आसपास छ । मैतेई समुदायले जनजाति समुदायमा सूचीकृत गर्नुपर्ने माग गर्दै आएको थियो ।

जमिनमाथि विशेष हक भएको कुकीको बसोबास क्षेत्रमा मैतेईले जग्गा किन्न पाउँदैनन् । मैतेईले आरक्षणको माग गरेको धेरै वर्ष भइसकेको छ । त्यसका लागि उनीहरू संघर्ष गर्दै आएका छन् । हालै मणिपुर उच्च अदालतले मैतेई समुदायलाई अनुसूचित जनजाति श्रेणीमा सहभागी गर्ने अनुरोधमाथि विचार गर्न र त्यसबारे केन्द्र सरकारसमक्ष आवश्यक सिफारिस गर्न राज्य सरकारलाई आदेश दिएको छ । मिडिया रिपोर्टहरूका अनुसार अदालतको उक्त आदेशको विरोधमा कुकी समुदाय उत्रिएपछि हिंसा बढ्दै गएको हो ।

मैतेई समुदायले अरक्षण पाएको खण्डमा सबैतिर उनीहरूकै बाहुल्य हुने कुकी समुदायको बुझाइ छ । अदालतको आदेशको विरोधमा मे ३ मा अल ट्राइवल स्टुडेन्ट्स युनियनले आदिवासी एकजुटता र्‍याली गरेको थियो । त्यही र्‍याली हिंसात्मक भएयता सुरु भएको द्वन्द्व थामिएको छैन । घटनामा १ सय ४२ जनाको मृत्यु भएको छ भने हजारौं विस्थापित भएका छन् ।